कोरोना महामारीका कारण अभिनेता अनमोल केसी अहिले फुर्सदिला छन् । गत वर्ष निषेधाज्ञा हुनुभन्दा अगाडि चलचित्र ‘ए मेरो हजुर ४’ को छायांकन पूरा गरेका उनी अब तिहारपछि ‘एक्स नाइन : लेभल एक’ को छायांकन सुरु गर्दैछन् । उनले गत हप्ता यो चलचित्र साइन गरेका हुन् । चलचित्र ‘कृ’ पछि फेरि एकपटक दर्शकले उनलाई भयानक एक्सन गरेको देख्न पाउनेछन् ।

कामप्रति लगनशिल, मेहनत र इमान्दार भएर लाग्ने अनमोल आफैंलाई असम्भव लाग्ने चीजलाई पनि सम्भव तुल्याउन कुनै प्रयास छोड्दैनन् । चलचित्र ‘कृ’ यसको ज्वलन्त उदाहरण हो । यो चलचित्रमा उनले कुस्तीवाजको जस्तो आफ्नो शरीर बनाउनु पर्ने थियो । दमदार नृत्य र भरमार एक्सन गर्नुपर्ने थियो । धेरैले यो उनीबाट सम्भव छैन भनेका थिए । तर, उनले सम्भव तुल्याएरै देखाए ।
त्यसबेलादेखि उनको शब्दकोषबाट ‘असम्भव’ भन्ने शब्द हटेको छ । उनले आफ्नो हातमा खोपाएको ट्याटूले पनि यो कुरालाई प्रस्ट्याउँछ । उनले मंगलवार देब्रो हातमा ‘इम्पोसिबल’ नामको ट्याटू खोपेका छन्, जसमा उनले अगाडिको ‘इम’ शब्दलाई काटेर ‘पोसिबल’ लाई ठूलो अक्षर दिएका छन् । उनले ट्याटूमार्फत असम्भव भन्ने चीज केही नरहेको सन्देश दिन खोजेका छन् ।