अभिनेता राजेश हमालको नाममा निर्माण हुन लागेको चलचित्र ‘म राजेश हमाल’ मा अभिनेता आर्यन सिग्देलले अभिनय गर्ने भएका छन् । उनी मंगलवार केमियो भूमिकाका लागि चलचित्रमा अनुबन्ध भएका हुन् । आर्यनले राजेश हमालको सम्मानका लागि चलचित्रमा काम गर्न लागेको बताइएको छ । उनले हमालसँग चलचित्र ‘मौसम र सपना’ मा एकसाथ काम गरेका थिए ।

निर्माता केदार भुषालले चलचित्रमा केमियो भूमिकाका लागि राजेश हमाललाई पनि अफर गरेका छन् । तर, अहिलेसम्म उनले चलचित्रमा अभिनय गर्ने वा नगर्ने विषयमा कुनै निर्णय दिएका छैनन् । उनले चलचित्रको नामको विषयमा पनि आफ्नो निधो दिन बाँकी छ । तथापी, राजेश हमालसँग चलचित्रमा नाम प्रयोग गर्ने विषयमा मौखिक सहमति भइरहेको निर्माता भुषालले जानकारी दिए ।
विक्रम लामाले निर्देशन गर्ने चलचित्रमा सञ्चिता लुइँटेल, मुकुन भुषाल, महेश त्रिपाठी, एवन राज उप्रेती, सञ्जोग रसाइली, अस्मिता लामिछानेको अभिनय रहनेछ । राजेश हमालको नाममा ‘म राजेश हमाल’ बन्न लागे पनि उनको जीवनीमा चलचित्र आधारित हुने छैन । निर्माण टिमले उनको सम्मानका लागि चलचित्र बनाउन लागेको हो । भदौ २० गते धनगडीबाट चलचित्रको सुटिङ सुरु हुँदैछ ।