अहिले चलचित्र क्षेत्रमा प्रोफेसनल हुन थप चुनौती छ : राजेश हमाल



अभिनेता राजेश हमालले अहिलेको पुस्तालाई चलचित्रमा अगाडि बढ्न एकदमै चुनौती रहेको बताएका छन् । बिहीवार नयाँ बानेश्वरस्थित वान सिनेमाज्मा आयोजित कान्तिपुर फिल्म एकेमेडीका विद्यार्थीले निर्माण गरेको ८ वटा छोटो चलचित्रको स्क्रिनिङ र ग्राजुयशन पूरा गरेका विद्यार्थीहरुको विदाई कार्यक्रममा बोल्दै उनले प्रविधिको विकासले चुनौती थपिएको बताएका हुन् ।

‘पहिला दर्शकलाई चलचित्रको टेक्निकल पक्ष थाहा हुँदैन थियो । चलचित्र कसरी बन्छ भन्नेमै ठूलो आश्चर्य थियो । तर, अहिले त्यस्तो छैन । अहिले बच्चाले पहिला आमाको फोटो खिच्छ अनि आमा भन्न सिक्छ । अहिले सबैको हातमा चलचित्र बनाउन सामाग्री छ । चलचित्र कसरी बन्न भन्ने कुराको जानकारी अहिले सबैलाई छ । त्यसैले यो क्षेत्रमा प्रोफेसनल हुन थप चुनौती छ,’ उनले भने ।

उनले चलचित्र क्षेत्र लोकतान्त्रिक क्षेत्र रहेको पनि बताएका छन् । उनी भन्छन्, ‘चलचित्र क्षेत्र लोकतान्त्रिक क्षेत्र हो । चलचित्रमा प्रवेश गर्न जो पनि सक्छ । अभिनय, निर्देशन, निर्माण जसले पनि गर्न सक्छ तर टिकिरहन जो पनि सक्दैन । पूजी छ, चिनाजान छ भने सबैजना पहिलो चलचित्रमा हिरो-हिरोइन बन्न सक्छन् । तर, पहिलो चलचित्र नै दर्शकले स्वीकार गरेनन् भने त्यसपछि मरिहत्ते गरे पनि अगाडि बढ्न सकिन्न । त्यसैले यो लोकतान्त्रिक क्षेत्र हो ।’

सिर्जनामा लागेको व्यक्तिले आफ्नो पक्षको बारेमा मात्र सोच्न नहुने उनको कथन छ । आफूले पस्किने व्यक्तिको दृष्टिकोणबाट पनि आफ्नो सिर्जनाहरु पस्कन उनी सुझाउँछन् । राजेश हमाल अगाडि भन्छन्, ‘चलचित्र हेर्ने व्यक्तिको स्वाद के हो, चाहना के हो, समाज कता बगिरहेको छ, कस्तो किसिमको मनोरञ्जन रुचाउँछ भन्ने कुरा एउटा सिर्जनशिल व्यक्तिले गम्भीर भएर सोच्नु पर्छ ।’

चलचित्रका विभिन्न विधामा अध्ययन गरेका विद्यार्थीहरुलाई अभिनेता हमालले चलचित्र क्षेत्रमा कार्यरत हुनका लागि हरदम चुनौतीको सामना गर्न तयार हुनुपर्ने सुझाव दिएका छन् । चलचित्रमा काम गरुन्जेल हर पल, हर कदम, हर खुड्किलामा चुनौतीको सामना गर्दै अगाडि बढ्नु पर्ने उनको भनाई छ । चलचित्र क्षेत्रले अत्यन्त ठूलो त्याग, धौर्यता, मिहेनत र आत्मविश्वास पनि माग्ने उनले बताए ।

सच्चा मेकर बन्न आफूले पस्कने सामाग्री आफ्नै फ्लेवरको हुनपर्ने उनी बताउँछन् । अरुबाट प्रेरित भए पनि आफ्नो यूनिकनेस पस्कने खुबी मेकरमा हुन आवश्यक रहेको उनले बताए । राजेश हमालले कोरोना महामारीले विश्वको चलचित्र उद्योगले नै अकल्पनीय परिस्थितिको सामना गरेको भए पनि हतोत्साहित हुन नहुने बताएका छन् । संसारमा मानवजाती रहेसम्म चलचित्र मेकिङ, न्यारेसन र कथा हेर्नका लागि व्यक्ति तत्पर भइरहने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu