हाँस्य कलाकार शम्भुराज थापाको निधन भएको छ । कोरोना संक्रमण भएर लामो समयदेखि उपचाररत थापाको शनिबार विहान ४ः४० बजे पाटन अस्पतालमा निधन भएको हो । तीन हप्ताअघि कोरोना संक्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका थिए । ५५ वर्षीय थापा तीन दशकदेखि अभिनयमा सक्रिय थिए ।

२०४८ सालमा निर्माण भएको चलचित्र ‘पुकार’ बाट अभिनय करिअर सुरु गरेका उनले त्यसयता दुई दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरे । राजेश हमाल, श्रीकृष्ण श्रेष्ठ, गौरी मल्लको मुख्य भूमिका रहेको चलचित्र ‘आफ्नो बिरानो’ लाई उनी स्वयंले निर्माण समेत गरेका थिए । यसमा उनको पनि अभिनय थियो ।
मह संचारको ‘आमा’, ‘मदनबहादुर हरिबहादुर’ लगायतका टेलिसिरियलसँगै पछिल्लो समय ‘मेरी बास्सै’, ‘भद्रगोल’, ‘गोलमाल’ ‘हल्का रमाइलो’ लगायतका टेलिसियिरयलमा अभिनय गर्दै आएका उनी ‘हल्का रमाइलो’ मा काम गरेपछि ‘बखते’ चरित्रबाट दर्शकमाझ चर्चित थिए । थापाका श्रीमती, एक छोरो र एक छोरी छन्। उनको शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ ।


