स्टार कास्टका कारण निर्माण नहुँदै चर्चामा रहेको चलचित्र ‘एक्स ९’ मा अभिनेता पुष्प खड्काको प्रवेश भएको छ । आइतवार निर्माण टिमले उनीसँग औपचारिक रुपमा कागजी सम्झौता गरेको हो । उनीसँग गत वर्ष नै मौखिक सहमति भएको थियो । चलचित्रमा पुष्प एक्सन भूमिकामा प्रस्तुत हुने बताइएको छ । यसका लागि उनी केही महिना एक्सनको तालिम लिने तयारीमा छन् ।

यो चलचित्रमा अभिनेता द्वय सौगात मल्ल र अनमोल केसी पनि अनुबन्ध भइसकेका छन् । अब पुष्पले पहिलो पटक उनीहरुसँग एकसाथ स्क्रिन शेयर गर्नेछन् । चलचित्रमा अभिनेता राज कटुवालको पनि अभिनय रहनेछ । केही दिनमा निर्माण टिमले अभिनेता अनुप विक्रम शाहीसँग पनि कागजी सम्झौता गर्दैछ । यसरी हेर्दा चलचित्रमा कलाकारको लाइनअप बलियो हुने देखिन्छ ।
आउँदो पौषको तेस्रो सातादेखि क्यानडा, यूरोप र नेपालमा छायांकन हुने चलचित्रको कथा निर्देशक भट्ट र किंग योगीले तयार पारेका हुन् । गोल्डेन हिल्स पिक्चरको प्रस्तुतिमा निर्माण हुने् चलचित्रमा प्रियंका थापा एकल अभिनेत्री रहनेछिन् । राजिव तामाङ, विरेन कुँवर, सुबोध भट्ट र गोकुल कुँवर निर्माता रहेको चलचित्रलाई नेटफ्लिक्समा पनि रिलिज गर्ने योजनामा निर्माण टिम छ ।