गायक तथा मोडल सम्राट चौलागाँइले आफ्नो हिट गीत ‘सम्झिनी पानी छम्किनी’ को नाममा चलचित्र नै बनाउने भएका छन् । करिब एक महिना अगाडि सार्वजनिक भएको यो गीतको तीज भर्सनलाई दर्शकले मन पराएका छन् । यो गीतलाई हालसम्म १ करोड भन्दा बढीले हेरिसकेका छन् । यसअघि यो गीतको पहिलो भाग पनि हिट भएको थियो ।
गीत हिट भएपछि गायक चौलागाँइले चलचित्र बनाउने तयारी गरेका हुन् । यो चलचित्रलाई निर्देशक विक्रम स्वाँरले निर्देशन गर्नेछन् । गायक चौलागाँइले भने–‘दर्शकले यो गीतलाई निकैै मन पराउनुभयो । गीतको लय दर्शकको मुखमा झुन्डिएको छ । यसैले, अब हामीले यही नाममा चलचित्र बनाउने तयारी गरेका हौं । अहिले चलचित्रको स्क्रिप्ट लेख्ने काम सुरु भएको छ ।’

सम्राटका अनुसार, यो चलचित्रलाई कमेडी जनरामा निर्माण गरिनेछ । म्यूजिक भिडियो मेकिङमा समेत कुनै सम्झौता नगर्ने सम्राटले चलचित्रमा पनि मल्टीस्टारर कलाकार लिने बताएका छन् । कोरोना कहर कम भएर छायांकनका लागि अनुमति पाएपछि चलचित्रको कामलाई अझै तिव्रता दिने उनको भनाई छ ।
पछिल्लो समय दर्शकले रुचाएको गीतको नाम सापटी लिएर चलचित्र बनाउने ट्रेन्ड नै चलेको छ । ‘सम्हालिन्छ कहिले मन, म यस्तो गीत गाउँछु, रातो टिका निधारमा, मेरो एउटा साथी छ, काले दाई, कसले चोर्यो मेरो मन’ लगायतका चर्चित गीतको नाममाथि चलचित्र बनेका छन् । हिट गीतको नाममा चलचित्र बनाउँदा लगानी उठाउन सजिलो हुने विश्वास निर्माता/निर्देशकमा छ ।




