यसै वर्ष अभिनेता सौगात मल्लसँग मिलेर चलचित्र ‘दि सेक्रेट्स अफ राधा’ निर्माण गरेका निर्देशक सुवर्ण थापा फेरि नयाँ चलचित्रको तयारीमा जुटेका छन् । बिहीवार उनले आफ्नो फेसबुक स्टोरीमा स्क्रिप्टको एक तस्विर पोस्ट गर्दै नयाँ चलचित्र ‘दंश’ को घोषणा गरेका हुन् । हालै चलचित्रको स्क्रिप्ट लक भएको र लकडाउन नभएको खण्डमा दशैंपछि छायांकनमा निस्कने सुवर्णले बताए ।

सौगात मल्लको आदियोगी भिजन र सुवर्ण थापाको अमी फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्रमा निर्देशकको भने टुंगो लागेको छैन । तर, सुवर्णले नै चलचित्रको क्याप्टेनसिप सम्हाल्ने सम्भावना प्रवल छ । अहिलेसम्म चलचित्रका लागि कलाकार पनि फाइनल भएका छैनन् । नयनराज पान्डेको स्टोरी र डाइलग रहेको फिल्मको स्क्रिनप्ले सुवर्ण स्वयंले तयार पारेका हुन् ।
दोस्रो पटक सौगातसँग मिलेर चलचित्र निर्माणमा गर्न लागेका सुवर्ण आफूहरुको सोच मिल्ने भएकाले निरन्तरता सहकार्य भएको बताउँछन् । उनी भन्छन्, ‘मैले सौगात मल्ललाई गुरुकुलको बेलादेखि चिनेको हुँ । त्यसबेलादेखि हामीबीच दाजु र भाईको जस्तो सम्बन्ध छ । हाम्रो सोच पनि एकअर्कासँग मिल्छ । चलचित्रको बारेमा पनि कुरा मिल्ने भएकाले हामीबीच सहकार्य भएको हो ।’




