नेपाली कलाकारहरुले चलचित्र, म्यूजिक भिडियो र विज्ञापनबाट गर्ने आम्दानीको कर तिरेको आजसम्म सुन्नमा आएको छैन । छिमेकी मुलुक भारतमा कलाकारहरुबीच सबैभन्दा बढी कर तिर्न हानाथाप हुँदा नेपालमा भने नाम चलेका कलाकारहरु नै आम्दानीको कर तिर्न आनाकानी गरेको देखिन्छ । कर कार्यालयले पनि कलाकारको आम्दानीमाथि निगरानी राख्न सकेको छैन ।
लामो समयदेखि नेपाली कलाकारले कर नतिर्ने गरेको विषयमा बहस भइरहँदा अभिनेत्री आँचल शर्मा कर तिर्न कर कार्यालय नै पुगेको भिडियो यतिबेला सोसल मिडियामा भाइरल भएको छ । उनले बिहीवार लाजिम्पाटस्थित आन्तरिक राजस्व विभागको कार्यालयमा पुगेर आफ्नो आम्दानीको कर तिरेकी हुन् । उनी कर तिर्न पुग्दा कर कार्यालयका कर्मचारीहरु नै चकित परेका थिए ।

अर्थ मन्त्रालयका उपसचिव कर्ण तिमल्सिनाले आफ्नो ट्विटर ह्यान्डलमा ‘एकजना नयाँ करदाता थपियो’ भन्दै आँचल कर बुझाउन पुग्दाको एक भिडियो शेयर गरेका छन् । भिडियोमा उपसचिव कर्णले उनलाई सोधेका छन्, ‘तपाईंलाई हाम्रो अड्डा कस्तो लाग्यो रु’ जवाफमा उनले भनेकी छन्, ‘सर्भिस एकदमै राम्रो छ ।’ कर तिरेर फर्किँदा उनले त्यहाँका कर्मचारीलाई नमस्कार गरेकी थिइन् ।
उक्त १३ सेकेन्डको भिडियोमा सामाजिक सञ्जाल प्रयोगकर्ताले विभिन्न खाले प्रतिक्रिया जनाएका छन् । कसैले अड्डा कस्तो लाग्यो भनेर सर्वसाधारणलाई पनि सोध्न आग्रह गरेका छन् भने कसैले कर कार्यालयमा सर्वसाधारण जनताले कर तिर्न जाँदा अत्यन्त सास्ती बेहोर्नुपर्ने तर सेलेव्रिटी, पहुँचवाला नेता वा त्यहाँका कर्मचारीका आफन्तले राम्रो सेवा पाउने गरेको गुनासो पोखेका छन् ।