नेपाली चलचित्रका अभिनेता दयाहाङ राई नेपाल-युरोपियन फिल्म फेस्टिभल (नियुफ) को ब्रान्ड एम्बेस्डरमा नियुक्त भएका छन् । आयोजक युरोपियन युनियनको नेपालस्थित डेलिगेसनले उनलाई सोमवार फेस्टिभलको दूतमा नियुक्त गरेको हो । नेपाली चलचित्रको लोकप्रिय कलाकारलाई फेस्टिभलको ब्रान्ड एम्बेस्डरमा नियुक्त गर्न पाउँदा डेलिगेसनले खुसी व्यक्त गरेको छ ।

दयाहाङले पनि फेस्टिभलसँग जोडिन पाउँदा खुसी लागेको बताए । चलचित्रका गतिविधि ठप्प भएको समयमा भर्चुअल रुपमै भए पनि फेस्टिभलले चलचित्रकर्मीमा उर्जा दिने उनको भनाई छ । ‘महामारीले चलचित्रका गतिविधि ठप्प भएको समयमा फेस्टिभल हुनु सकारात्मक कुरा हो । अझ फेस्टिभलमा नेपाली चलचित्र पनि समावेश हुनेछन्, यसले झनै उत्साहित बनाएको छ,’ उनले भने ।
भौतिक उपस्थितिमा हुँदै आएको नेपाल-युरोपियन फिल्म फेस्टिभल यस वर्ष भर्चुअल रुपमा हुँदैछ । फेस्टिभलको दशौँ संस्करण आउँदो असोज १ देखि ९ गतेसम्म चल्नेछ । योसँगै महोत्सवमा डेलिगेसनले आयोजना गरेको लैङ्गिक समानताबारे लघु चलचित्र प्रतियोगिताको विजेताको घोषणा तथा चलचित्रसँग सम्बन्धित महत्वपूर्ण अन्तरक्रिया र गोष्ठिहरू पनि सञ्चालन हुने जनाइएको छ ।




