राजेश हमालको फ्यानको कथामा ‘म राजेश हमाल’ बन्ने



अभिनेता राजेश हमालको नाममा निर्माण हुन लागेको चलचित्र ‘म राजेश हमाल’ को घोषणा गरिएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण टिमले ‘कास्ट एन्ड क्रियू’ चिनाउँदै चलचित्रको औपचारिक घोषणा गरेको हो । भदौ २० गते धनगडीबाट छायांकन सुरु हुन लागेको चलचित्रलाई जोन योञ्जनले निर्देशन गर्दैछन् भने केदार भुषालले निर्माण गर्न लागेका हुन् ।

यो चलचित्र राजेश हमालको जीवनीमा आधारित भएर बन्न लागेको होइन । राजेश हमालको चलचित्र हेरेर प्रभावित भएका फ्यानको कथा चलचित्रले वाचन गर्ने निर्देशक जोन योञ्जनले बताए । उनले भने, ‘यो चलचित्र राजेश हमालका लागि ट्रिब्यूट हो । हामी कहिँ न कहिँ राजेश हमालको फ्यान छौं । उहाँका चलचित्र हेरेर प्रभावित छौं । त्यही इमोसनमा चलचित्र बनाउन लागेका हौं ।’

चलचित्रको टाइटलभन्दा कथावस्तु विल्कुलै फरक रहेको उनको भनाई छ । उनले अगाडि भने, ‘झट्टा नाम सुन्दा राजेश हमालको जीवनीमा चलचित्र आधारित होला भन्ने धेरैलाई लाग्न सक्छ । तर, कथावस्तु विल्कुलै फरक छ । चलचित्रले आम मानिसको राजेश हमालसँग जोडिएको भावनाको कथा भन्नेछ ।’ उनले राजेश हमालको उपस्थिति विना यो चलचित्र अधुरो र अपुरो हुने पनि बताए ।

निर्माण टिमले अतिथी भूमिकाका लागि राजेश हमाल स्वयंलाई अफर गरेको छ । उनले स्क्रिप्ट सुनेर आफ्नो नाममा चलचित्र बनाउन अनुमति दिए पनि अभिनय गर्ने वा नगर्ने भन्ने विषयमा निधो दिइसकेका छैनन् । निर्माता केदार भुषालले चलचित्रमा राजेश हमालको कुनै न कुनै रुपमा उपस्थिति रहने जानकारी दिए । चलचित्र ‘सत्यम्’ का कारण उनले यो चलचित्रमा काम गर्ने सम्भावना न्यून छ ।

‘राजेश हमाल सुपरस्टार मात्र होइन, भावना पनि हो’ भन्ने ट्यागलाइनमा केन्द्रित भएर चलचित्र बन्न लागेको निर्माता भुषालले बताए । उनले भने, ‘चलचित्रमा निर्वाह गरेको चरित्रका कारण धेरैको उहाँसँग भावना जोडिएको छ । उहाँलाई दुःखको साथी भन्ने गरिन्थ्यो । उहाँ मानिससँग स्टारको रुपमा मात्र नभइ भावनात्मकको रुपमा पनि जोडिनु भएको थियो । यही कुराबाट चलचित्र इन्स्पायर्ड छ ।’

चलचित्रमा अभिनेत्री सञ्चिता लुइँटेल मुख्य भूमिका देखिँदैछिन् । उनी यो चलचित्रबाट अफर आउँदा आफूले सोचेको कुरा स्क्रिप्ट सुनेपछि फरक पाएको बताइन् । उनले भनिन्, ‘यो चलचित्रबाट अफर आउँदा ‘अर्जुन’ चलचित्रमा मैले राजेश हमालको अपोजिटमा काम गरेकाले त्यही चलचित्रको गीतलाई केही गर्न खोजेको होला जस्तो लागेको थियो । तर, जब स्क्रिप्ट सुनेँ एकदमै फरक पाएँ ।’

त्यस्तै, चलचित्रमा मुख्य भूमिकामा अभिनय गर्न लागेका अभिनेता मुकुन भुषालले क्यारेक्टरको लोभका कारण ‘म राजेश हमाल’ मा आबद्ध भएको बताए । चलचित्रमा महेश त्रिपाठी, एवन राज उप्रेती, सञ्जोग रसाइली, अस्मिता लामिछानेको पनि अभिनय रहनेछ भने अभिनेता आर्यन सिग्देल अतिथी भूमिकामा देखिँदैछन् । अलोक शुक्लाले खिच्ने चलचित्रलाई भीम विश्वकर्माले सम्पादन गर्नेछन् ।

वर्ड पिक्चर, जोया पपया र ढाकाटोपी प्रोडक्सनको ब्यानरमा बन्न लागेको चलचित्रमा अनुज हमाल कार्यकारी निर्मातामा रहेका छन् । जोन योञ्जनकै कथा रहेको चलचित्रको स्क्रिनप्ले जोन र सायद कार्कीले मिलेर तयार पारेका हुन् । एक महिनाको सेड्युलमा चलचित्रको छायांकन धनगडीमा हुनेछ । राजेश हमालको नाममा यसअघि पनि ‘मेरो राजेश दाइ’ नाममा चलचित्र बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu