चलचित्रको सुटिङका लागि नेपाल आउँदै अनुपम, बोमन र परिणिती



बलिउडका सफल निर्देशक सूरज बडजात्याले अभिनेता अमिताभ बच्चनलाई लिएर बनाउन लागेको चलचित्र ‘उचाइँ’ को छायांकन नेपालमा गर्ने भएका छन् । चलचित्रको छायांकनका लागि कलाकारहरु बोमन इरानी, परिणिती चोपडा, अनुपम खेर, निना गुप्ता नेपाल आउनेछन् । चलचित्रको हिमाली क्षेत्रमा सुटिङ गर्नुपर्ने भएकाले निर्देशक बडजात्याले नेपाललाई रोजेका हुन् ।

चलचित्रमा अमिताभ बच्चन मुख्य भूमिकामा भए पनि उनी नेपाल आउने छैनन् । स्वास्थ्य अवस्थाका कारण उनलाई परिवारले चिसो ठाउँमा पठाउन नमानेपछि उनीबाहेकको टिम नेपाल आउन लागेको हो । अक्टोबरबाट नेपालमा छायांकन हुने चलचित्रको नेपाल व्यवस्थापन थ्री ह्विलर्स कम्पनीले हेरेको छ । चलचित्रको लुक्ला, नाम्चे, लाङटाङ र मनाङ क्षेत्रमा छायांकन हुनेछ ।

मित्रताको कथामा निर्माण हुन लागेको चलचित्रको ४० देखि ४५ दिनसम्म नेपालमा छायांकन हुने भारतीय अनलाइन पिंकभिल्लाले उल्लेख गरेको छ । निर्देशक बडजात्या लामो समय चलचित्रको छायांकनका लागि एक सुरक्षित स्थानको खोजीमा थिए । लोकेशन खोज्न उनी विदेशका विभिन्न ठाउँमा समेत पुगेका थिए । तर, पछि उनले हिमाली क्षेत्रको छायांकनका लागि नेपाल रोजेका हुन् ।

चलचित्रको छायांकनको विषयमा छलफल गर्न केही समय अगाडि निर्देशक बडजात्या नेपाल आएका थिए । करीब दुई साता नेपाल बसेर उनले छायांकन स्थलको टुंगो लगाएका हुन् । चलचित्रको छायांकन अनुमतिका लागि नेपाल व्यवस्थापन हेर्ने कम्पनीले सञ्चार मन्त्रालयसँग अनुमति मागेको छ । यो चलचित्रमार्फत सुरज र अमिताभले पहिलो पटक सहकार्य गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu