कलाकार निशा घिमिरेको निधन भएको छ । काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत उनको बुधबार साँझ ६ः५१ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । मंगलवार मात्र नर्भिक अस्पतालले सबै प्रयासका बाबजुद पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार हुन नसकेको बताएको थियो । पछिल्लो समय उनको मुटु र मिर्गौलाले काम गर्न छोडेको थियो ।
बुधबार बिहानदेखि कलाकार घिमिरेको अवस्था गम्भीर बन्दै गएको थियो । उनलाई खाना पनि पाइपबाट खुवाउने गरिएको थियो भने उनका शरीरमा रहेका घाउहरू लामो समयसम्म पुरिन सकेका थिएनन् । घिमिरेको पार्थिव शरीरलाई बिहीबार दिउँसो अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा राखिने र त्यसपछि अन्त्येष्टी गरिने नेपाल चलचित्र कलाकार संघले जनाएको छ ।

समाचार माध्यममा निशाको स्वास्थ्य अवस्थाबारे समाचार पढेपछि नर्भिककी प्रबन्ध निर्देशक मेघा चौधरीले गत जेठ २७ गते घरबाटै उनको उद्धार गरेर नर्भिक अस्पतालमा निःशुल्क उपचार सुरु गराएकी थिइन् । उनको उपचारमा ५० लाखभन्दा बढी खर्च भइसकेको अस्पतालले बताएको छ । तीन वर्षअघि अभिनयको कोर्स पढ्न भारत गएको समयमा उनी सवारी दुर्घटनामा परेकी थिइन् ।
दुर्घटनापछि उनको लामो समय भारतमै उपचार भएको थियो । तर, त्यहाँको अस्पतालको खर्च धान्न नसक्ने भएपछि उनलाई परिवारले नेपाल ल्याए । नेपाल आएपछि पनि आर्थिक अभावका कारण परिवारले उनको उचित उपचार गराउन सकेका थिएनन् । उनी लामो समय घरमै अर्धचेत अवस्थामा थिइन् । उनले केही चलचित्रका साथै दर्जन बढी म्यूजिक भिडियोमा अभिनय गरेकी छन् ।




