हल खुलेसँँगै फेरि ‘श्री’ रिलिजको तयारी



कोरोना महामारीको दोस्रो लहर फैलिएसँगै गत बैशाख ६ गतेबाट बन्द भएका काठमाडौं उपत्यकाका सिनेमा घरहरुले सञ्चालनको अनुमति पाएका छन् । बुधवार काठमाडौंसहित तीन जिल्लाका प्रशासन कार्यालयको प्रमुखहरुको बैठकले स्वास्थ्य सुरक्षाको मापपदण्ड अपनाएर सिनेमा हल खोल्न अनुमति दिएको हो । तर, प्रदर्शनका लागि चलचित्र नहुँदा सिनेमा हल खुल्न सकेका छैनन् ।

सिनेमा हलसम्म दर्शक आउने माहोल नबनेसम्म नयाँ चलचित्र रिलिज गर्न निर्माताहरु तयार नदेखिएको अवस्थामा गत बैशाखमा प्रदर्शनकै क्रममा रोकिएको चलचित्र ‘श्री’ लाई नै पुनः प्रदर्शन गर्ने तयारीमा यसको वितरक कम्पनी छ । जिजिए ग्रुपका हर्ताकर्ता करण श्रेष्ठले अन्यायमा परेको चलचित्रलाई न्याय दिनुपर्ने बताए । रिलिजकै क्रममा रोकिएकाले ‘श्री’ लाई पुनः रिलिज गर्नुपर्ने उनको माग छ ।

उनी भन्छन्, ‘चलचित्रको पहिलो शोमा ५ जना दर्शक थिए । बलियो माउथ पब्लिसिटीपछि चलचित्रले दर्शकको संख्या बढाउँदै लगेको थियो । तर, कोरोनाका कारण सिनेमा हल बन्द भएपछि चलचित्र राम्रोसँँग चल्न पाएन । अब फेरि यही चलचित्र रिलिज गरेर सिनेमा घरको पर्दा उघार्नुपर्छ । किनकि, रिलिजकै क्रममा रोकिएर यो चलचित्रमाथि अन्याय भएको छ । पुनः रिलिज गरेर न्याय दिनुपर्छ ।’

एभरेष्ट सूर्य बोहोराद्वारा निर्देशित ‘श्री’ मा सन्दिप क्षेत्री, रविन्द्र झा, वर्षा सिवाकोटी, बुद्धि तामाङ, राजाराम पौडेल, बसुन्धरा भुसाल, भोलाराज सापकोटा, मोहनकृष्ण श्रेष्ठ, सविता गुरुङ लगायतको अभिनय छ । सविता गुरुङले निर्माण गरेको यो चलचित्र सिनेमा घर र ओटीटी प्लेटफर्ममा एकसाथ रिलिज भएको थियो । चलचित्रमा शेरबहादुर तामाङको छायांकन र सुजन बडालको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu