शुक्रवार जिल्ला प्रशासन कार्यालय काठमाडौंले चलचित्र छायांकन खुल्ला गर्ने निर्णय गरेको छ । तर, २५ जनासम्मको समुहको उपस्थितिमा मात्र छायांकन गर्न प्रशासनले अनुमति दिएको छ । बुधवार काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रमुखहरुको बैठकले चार महिनादेखि बन्द रहेका सिनेमा हलहरु स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर खोल्न दिने निर्णय गरेको थियो ।

शुक्रवार काठमाडौंका सिडिओ कालिप्रसाद पराजुलीको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णयमा भनिएको छ, ‘सिनेमा हल सञ्चालन तथा छायांकनमा सरकारले तोकेको मापदण्ड पूर्ण पालन गर्ने । हलहरुमा कूूल क्षमताको ५० प्रतिशतमा नबढ्ने गरी दर्शकहरुको उपस्थितिको व्यवस्थापन गर्ने । चलचित्र तथा श्रव्यदृश्य छायांकनका लागि २५ जनासम्मको समुह परिचालन गर्ने ।’
त्यस्तै, काठमाडौं जिल्ला प्रशासन कार्यालयले रात्रिकालिन व्यवसाय पनि खुल्ला गर्ने निर्णय गरेको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर ५० प्रतिशत ग्राहक नबढ्ने गरी रात्रिकालिन व्यवसाय सुरु गर्न प्रशासनको निर्देशन छ । लोकदोहोरी साँझ बेलुका १२ बजेसम्म र क्लब रातीको २ बजेसम्म खुल्न पाउनेछन् । यसको अनुगमन गर्ने जिम्मेवारी सम्बन्धित क्षेत्रको संस्थालाई दिइएको छ ।




