पहिलो लिम्बू चलचित्र ‘थेत्लङ’ अमेरिकामा प्रदर्शन हुने



लिम्बू भाषामा आधारित पहिलो लिम्बू कथानक आधुनिक चलचित्र ‘थेत्लङ’ आगामी अक्टोबर २ मा अमेरिकाको ज्याक्सन हाइटस्थित सत्यनारायण हलमा प्रदर्शन हुने भएको छ । चलचित्रका निर्देशक किशोर सुब्बा अनुसार, त्यहाँ पहिलोपटक चलचित्रको विशेष प्रदर्शन हुन लागेको हो ।

ग्रेजुएसन लेभलमा अध्यापन भइरहेको उपन्यास ‘थेत्लङ’ देउमान लिम्बू होन्दोकुले लेखेका हुन् । उक्त उपन्यासलाई चलचित्र निर्देशक तथा लेखक सागर केरुङले चलचित्रको पटकथामा ढालेका छन् । सिक्किमका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रमा विशाल सेनेहाङ, दिव्या सुब्बा, संगीता सम्बाहाम्फे, शर्मिला यक्सो, मुनाहाङ लिम्बू, सोनु ताम्लिङलगायतले अभिनय गरेका छन् ।

सिक्किममा बसोबास गर्ने लिम्बू जातिको जीवनशैलीमा आधारित कथा रहेको चलचित्रमा दिनेश माङ्मुको नृत्य, कुल्बा सुब्बा, राजु आङ्देम्बे, मणि ताम्लिङ र पविन आङ्देम्बको संगीत छ । मणि ताम्लिङ निर्माता रहेको चलचित्रमा विराज लिम्बु सहनिर्माता छन् । यो चलचित्र काठमाडौं, धरानलगायतका स्थानमा प्रदर्शन भइसकेको छ । चलचित्र हङकङ, कोरिया, यूकेलगायतका देशमा प्रदर्शनको तयारीमा छ । चलचित्रले चारवटा एफएलएफए अवार्ड पनि जितेको छ ।

चलचित्र प्रदर्शनका लागि किरात याक्थुङ चुम्लुङ, अमेरिकाको तर्फबाट दिपक थेवे संयोजक रहेको प्रदर्शन समिति बनाइएको छ । जसमा निर्देशक किशोर सुब्बा, लोक चेम्जोङ, वीरेन्द्र लाबुङ लिम्बू, प्रेम गुरुङ, सम्राट कार्की, केशवराम राई र किरात याक्थुङ चुम्लुङ अमेरिकाका अध्यक्ष सुमन थाम्सुहाङ सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu