नेपाली चलचित्र क्षेत्रमा कुनै समयमा निकै चर्चा कमाएका निर्देशक, निर्माता तथा कलाकार युवराज लामा सन् २००३ मा रिलिज भएको ‘धर्मात्मा’ पछि चलचित्र निर्माण तथा निर्देशनबाट टाढा भएका थिए । अब उनी करीब डेढ दर्शकपछि चलचित्र निर्माण र निर्देशनमा कमब्याक गर्ने तयारीमा छन् । अहिले चलचित्रको स्क्रिप्टमा काम भइरहेको र आउँदो चैतपछि सुटिङ सुरु हुने उनले बताए ।
यो चलचित्रबाट उनले आफ्नो ‘लिगेसी’ धान्न छोरालाई नायकको रुपमा डेब्यू गराउने भएका छन् । उनका कान्छा छोरा सिद्धार्थ लामाले चलचित्रमा अभिनय गर्न लागेका हुन् । नेपाली दर्शकका लागि उनी नयाँ अनुहार भए पनि भारतको मलायलम इन्डस्ट्रीमा लोकप्रिय छन् । उनले मलायलम इन्डस्ट्रीका सुपरस्टार मोहनलालसँँग चलचित्र ‘योद्धा’ मा एकसाथ स्क्रिन शेयर गरिसकेका छन् ।

मलायलमको अर्को चलचित्र ‘इदावाप्पथ्य’ मा पनि उनले मुख्य भूमिकामा अभिनय गरेका थिए । सन् २०१६ मा रिलिज भएको यो चलचित्रमा अभिनेत्री मनीषा कोइरालाको पनि अभिनय थियो । मलायलममा सिद्धार्थलाई ‘उनिकुटा’ नामले चिन्ने गरिन्छ । पिताले निर्माण तथा निर्देशन गरेका ‘देउता’ लगायतका केही नेपाली चलचित्रमा पनि उनले बाल कलाकारको रुपमा अभिनय गरेका छन् ।
छोराको डेब्यूबारे युवराज लामाले भने, ‘सिद्धार्थले आफ्नो क्षमता र प्रतिभाले मलालयम इन्डस्ट्रीमा जुन पहिचान बनाएको छ, त्यो नेपाली दर्शकबीचमा पनि जानुपर्छ भन्ने मेरो सोच हो । किनकि, उसको क्षमता नेपाली दर्शकले पनि चिन्नु पर्छ । अनि, युवराज लामाको लिगेसी धान्ने पनि त कोही चाहियो नी १ यसैले पनि नेपाली चलचित्रमा छोरालाई डेब्यू गराउन लागेको हुँ ।’