तीजको पर्याय गीत : ‘तीजको रहर आयो बरि लै’



भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज आज हिन्दू धर्मावलम्बी नारीहरू महादेवको पूजा आराधना गरी मनाउँदैछन् । सत्ययुगमा आजैको दिन निराहार व्रत बसेर पार्वतीले महादेव स्वामी पाएकाले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वासमा नारीहरू व्रत बस्ने गर्दछन् । तर, कोरोना महामारीका कारण गत वर्ष झैँ यस वर्ष पनि तीजको खासै रौनक छैन ।

पछिल्लो समय गीतसंगीत विनाको तीज खल्लो बन्दै गएको छ । गाउँ(शहरमा तीज गीत घन्किन थालेपछि तीजको रौनक छाएको अभाष हुन्छ । तीजको दिन रातो साडी लर्काउँदै तीज गीतमा कम्मर नमर्काएसम्म महिलाहरुलाई धित मर्दैन । यसकारण पनि गीतसंगीतलाई तीजको अभिन्न अंग मानिन थालिएको छ । वर्षेनी तीजलाई लक्षित गरेर सयौं गीत रेकर्ड हुने गरेका छन् ।

नेपाली चलचित्रमा पनि तीज गीतलाई कथावाचनको रुपमा प्रयोग गरिँदै आएको छ । वर्षौदेखि तीजमा सर्वाधिक घन्कने र सबैको राजाईमा परेको ‘तीजको रहर आयो बरि लै’ गीत नेपाली चलचित्रकै हो । तीजमा नारीहरुको जमघट हुँदा यो गीतमा कम्मर मर्काएकै हुन्छन् । चलचित्र ‘कन्यादान’ मा समावेश यो गीत बज्न थालेपछि मानिसहरुले तीजको रौनक छाएको महशुस गर्ने गर्दछन् ।

चेतन कार्कीको शब्द, दिपा झारपुर्णिमा श्रेष्ठको स्वर र मनोहरी सिंहको संगीत रहेको यो गीतको ओर्जिनल भिडियो यूट्युबमा समेत छैन । गौरी मल्ल, बसुन्धरा भुषाल र शुभद्रा अधिकारीको अभिनय रहेको गीतमा श्रीमानको दीर्घायूको कामना गर्दै वर्षौंपछि भेट भएका दिदी(बहिनीहरुलाई सबै दुःख-पीडा भुलेर खुसीसाथ नाच्न भनिएको छ । गीतको भिडियोका कोरियोग्राफर बसन्त श्रेष्ठ हुन् ।

‘आफ्नो मान्छे’ (तीज र तिहार आउँदामा), ‘मुना मदन’ (नाच नाच संगिनी), ‘अन्दाज’ (आयो बरै तीजको रमझम), ‘रोमियो एण्ड मुना’ (डानसमा म एक नम्बर), ‘अन्जानमै माया बस्ला है’ (तीजको यो कस्तो रहर), ‘शकुन्तला’ (लपक्कै लाली), ‘रंग बैजनी’ (छड्को पोते) लगायतका चलचित्रमा पनि तीज गीत समावेश छन् । तर, ‘तीजको रहर’ जति लोकप्रिय अरु चलचित्रका तीज गीत बन्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu