एकाएक परिपक्व भएको आभाष भइरहेको छ : ऋचा शर्मा



अभिनेत्री ऋचा शर्माले आमा बनेपछि एकाएक आफू परिपक्व भएको आभाष भइरहेको बताएकी छन् । बधुवार नर्भिक अस्पतालमा पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएकी उनले बिहीवार नर्भिक अस्पतालको शैय्याबाट आफ्नो फेसबुकमा श्रीमानको साथमा छोरालाई छातीमा टँसाएको एक विशेष तस्बिर पोस्ट गर्दै आमा बनेपछि मनमा उब्जिएका भाव व्यक्त गरेकी हुन् ।

छोराको नाम आभ्यान बिक्रम राणा राखेको जानकारी दिँदै उनले लेखेकी छन्, ‘हिजोसम्म आफैं केटा केटी छु जस्तै लागिरहेको थियो । आज एकाएक परिपक्व भएको झैँ आभास भइरहेको छ । सोच्दा पनि पृथ्वी बोके झैँ लाग्छ, आज मलाई आमा भन्ने कोही खासको आगमन भएको छ । अनेक कुराहरु मनमा खेलिरहेका छन् । उत्सुकता, अस्थिरता, हर्ष, पीर, डर, दृढता, संकल्पहरुको बाढी मनभित्र चलिरहेको छ ।’

उनी अगाडि लेख्छिन्, ‘पर्दामा अनेक भूमिका निभाउँदा निभाउँदै आज पर्दा बाहिर आमा बन्ने सौभाग्य पाउँदा यो जत्ति महत्वपूर्ण र न्यानो चरित्र सायद मैले कहिल्यै निर्वाह गर्ने मौका पाएको थिइनँ । जीवनमा आजसम्म के कति कमाए लेखा-जोखा छैन, तर आमा झैँ माया गर्ने सासु आमा, बुवा झैँ आशिष दिने ससुरा बुबा, मनले मागेभन्दा बढी बुझिदिने जीवनसाथी र आज सन्तानको आगमनसँगै म जत्ति धनी मान्छे कोही छैन झैँ लागिरहेको छ ।’

उनले एउटा असल आमा भएर छोराको दरिलो साथी बन्न र छोरालाई पुरुष मात्र नभएर असल मान्छे बनाउन सकुँ भन्ने मात्र अब आफूलाई लोभ रहेको बताएकी छन् । ऋचाको २०७६ मंसिर २१ गते दिपेक्ष राणासँग विवाह भएको थियो । गत नयाँ वर्षमा ऋचाले सोसल मिडियामा श्रीमानसँग सजीवनको विरुवालाई पानी हालिरहेको एक तस्बिर पोस्ट गर्दै आफू आमा बन्न लागेको जानकारी दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu