किपालय प्रडक्सनले प्लान इन्टरनेसनलको ‘गल्र्स गेट इक्वेल’ अभियान अन्तर्गत रहेर गरेकोे फिल्म मेकिङ कार्यशालामा भाग लिएका १० किशोरीले एक महिना सिकेकै भरमा उम्दा चलचित्र बनाएर देखाएका छन् । एक महिना सिकेका उनीहरूले दुई हप्तामा तयार गरेका चलचित्र नै देखाए । शुक्रबार नेपाल चलचित्र विकास बोर्डको हलमा उनीहरूले बनाएका चलचित्र हेर्दा सिकारु हैन अनुभवी फिल्म मेकिङको झलक देख्न सकिन्थ्यो ।
शुक्रबार १० जना किशोरीले एक महिने फिल्म मेकिङ कार्यशाला अन्तर्गत बनाएका ५ चलचित्रको प्रदर्शन गरिएको थियो । ‘वुमन मेक फिल्मस्’ शीर्षकमा गरिएको यो तालिमलाई अस्कर इन्टरनेसनल कलेज र चलचित्र विकास बोर्डले पनि सघाएका थिए । ५ चलचित्रकोे लम्बाई औसतमा ५ मिनेट थियो । कार्यशाला भर्चुअल रुपमा सम्पन्न गरिएको थियो ।

नेपाली चलचित्रहरूमा महिलाको चरित्र चित्रण अस्वभाविक र यथास्थितिवादी रहेको टिप्पणी हुने गरेको छ । महिला सम्बन्धि थुप्रै ‘स्टेरियोटाइप’ चिर्न र चलचित्र निर्माणमा महिलाको संख्या बढाउने उद्देश्यले कार्यशाला गरेको आयोजक किपालयको धारणा थियो । किपालयकी प्रोजेक्ट हेड आश्मा पोखरेलले कार्यशालाका लागि देशभरबाट आवेदन मागिएको यसरी आएका आवेदनबाट १० जनालाई छनोट गरी कार्यशालामा सहभागी गराइएको जानकारी गराइन् ।
कार्यशालाका प्रोजेक्ट कोअर्डिनेटर नवविजय श्रेष्ठले सैद्धान्तिक र प्रायोगिक दुवै विधिको प्रयोग गरी किशोरीलाई फिल्म मेकिङमा दीक्षित गर्ने प्रयास गरेको जनाए । ‘एक महिना लामो तालिममा १८ देखि २४ वर्षसम्मका किशोरीले नेपाली समाजको बनावटमाथि रचनात्मक प्रश्न गर्ने शिल्प सिके । यी पाँच चलचित्रको प्रदर्शनले यो महिला चलचित्रकर्मीलाई आफ्नो क्षमता देखाउन राम्रो मञ्ंच प्रदान गर्नुका साथै आत्मविश्वासी बनाएको महसुस गरेका छौँ,’ नवविजयले भने ।
यसैगरी प्लान नेपालकी अभियान विशेषज्ञ सृजना बज्रचार्यले छोटो समयमै किशोरीहरूले उत्कृष्ट चलचित्र बनाउन सफल भएकोमा खुशी लागेको बताइन् । ‘यति छोटो तालिमको भरमा यति राम्रा बन्लान् भन्ने सोचेको थिइँन तर उनीहरूले उत्कृष्ट चलचित्र बनाएका छन्,’ उनको भनाइ थियो । एक महिने कार्यशाला साउन ३ देखि भदौ ३ सम्म चलेको थियो ।
कार्यशालामा आश्रुती त्रिपाठी, प्राधान्या योञ्जन, एन्जला चौधरी, पुष्पा जोशी, पूर्णिमा महर्जन, अम्बिका भण्डारी, अस्मिता लावती, श्रीषा कुँवर, मीरा खड्का र ज्योति बेलबासे सहभागी भएका थिए । १० जनाले ५ समूहमा विभक्त भई बनाएका चलचित्रमा उनीहरूले ५ फरक महिलाको जिन्दगीलाई चलचित्रमा समावेश गरेका थिए । यसरी बनेका सबै फिल्म डकुमेन्ट्री हुन् ।
१ महिने कार्यशालामा उनीहरूलाई राजन कठेत, रजिला श्रेष्ठ, बबिन दुलाल लगायतले प्रशिक्षण दिएका थिए । किशोरीलाई प्रशिक्षण दिएका राजन कठेतले कार्यशालाले चलचित्र बनाउने सिपसँगै किशोरीमा समाजसँग घुलमिल हुने गुणको पनि विकास गराएको धारणा राखे । ‘यति छोटो समयावधिमा यी दश चलचित्रकर्मीले डकुमेन्ट्री फिल्म बनाउन चाहिने आधारभुत ज्ञान त पाए नै, यसैका साथै चलचित्रकर्मीले अपरिचित व्यक्ति माझ आफूलाई कसरी पस्किने र उनीहरूको जीवनबारे चलचित्र निर्माण गर्ने ज्ञान पनि हासिल गरे,’ उनको धारणा थियो ।