म आज जे छु सुदर्शन थापाकै कारणले छु : पूजा शर्मा



विगत ८ वर्षदेखि निर्देशक सुदर्शन थापा र अभिनेत्री पूजा शर्माबीच व्यवसायिक सम्बन्ध कायम छ । चलचित्र ‘मधुमास’ पछि सुदर्शनले पूजा विना चलचित्र नै बनाएका छैनन् । उनी निर्देशित चलचित्र ‘प्रेमगीत’ बाटै पूजाको स्टारडम चुलिएको थियो । यसकारण पनि उनलाई चलचित्र क्षेत्रमा स्थापित गर्न सुदर्शनको ठूलो हात छ भन्ने गरिन्छ । यो कुरा पूजा स्वयं पनि खुलेर स्वीकार गर्छिन् ।

आइतवार कमेडी शो ‘मुन्द्रको कमेडी क्लब’ मा अतिथीको रुपमा उपस्थिति हुने क्रममा सञ्चारकर्मीसँग छोटो कुराकानी गर्दै उनले आफूलाई बनाउन सुदर्शन थापाकै हात रहेको बताइन् । उनले भनिन्, ‘मलाई सुदर्शन थापाले बनाएको हो भन्दा लाज लाग्दैन । उहाँले धेरै कलाकारलाई बनाउनु भएको छ । म सुदर्शन थापाको टिमको सदस्य हुँ । म आज जे छु सुदर्शन थापाकै कारणले छु ।’

गत हप्ता सुदर्शनले सुप्रिया कटुवालसँग टीकाटालो गरे । तर, उनले पूजालाई खबरसम्म गरेनन्। यसपछि उनीहरुबीच सम्बन्ध विग्रिएको र अब चलचित्रमा सहकार्य नहुने चर्चा चलचित्रवृतमा चलेको छ । तर, पूजाले सुदर्शन थापाले बिहे गर्दैमा टिमअप नछुट्ने बताएकी छन् । उनले आफूले कहिल्यै सुदर्शन थापालाई हरेक चलचित्रमा ‘म नै हुनुपर्छ’ भनेर दबाब दिने नगरेको पनि बताइन् ।

उनले अगाडि भनिन्, ‘म पनि भोली बिहे गरेर जान्छु होला । त्यो बेलामा पनि सुदर्शन जीलाई चलचित्रमा मलाई नै राख्नुपर्छ भनेर भन्दिनँ । मैले सुदर्शन जीलाई सधैं भन्ने गरेको छु कि स्टोरीमा म सुहाउँदिनँ भने अर्को राखौं । मैले दबाब दिएर यो चलचित्रमा म नै हुनुपर्छ भनेर भन्दिनँ । ‘म यस्तो गीत गाउँछु’ मा मैले अरु हिरोइनलाई अफर गरेको थिएँ । मेरो चलचित्रमा मै हुनुपर्छ भन्ने छैन ।’

‘मुन्द्रको कमेडी क्लब’ मा एक्लै पुगेकी पूजाले आफूलाई ‘बाघ’ महशुस गर्ने पनि बताएकी छन् । उनी भन्छिन्, ‘म ‘बाघ’ नै हुँ । म निडर छु । म कसैको भरमा बस्दिनँ । कसैले केही गर्दिएला भन्ने आश पनि गर्दिनँ । मलाई कोही चाहिँदैन ।’ उनले यस वर्ष विवाह गर्ने तयारी गरेको भए पनि आफन्तको निधन भएकाले बिहे सरेको बताइन् । केही समयदेखि उनको नाम युद्ध बानियाँसँग जोडिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu