‘चरी जेलैमा’ बोलको तीज गीत सुपरहिट भएसँगै चर्चित लोकगायिका विष्णु माझीको अवस्थाको बारेमा राष्ट्रिय मानव अधिकार आयोगले चासो दिएको छ । राष्ट्रिय मानव अधिकार आयोगले स्याङ्जा प्रशासन कार्यलयलाई माझीको अवस्थाबारे वुझ्न निर्देशन दिएको थियो । मानव अधिकार आयोगको पत्र प्राप्त भएपछि प्रशासनले उनको अवस्थाबारे वुझेको छ ।

स्याङ्जाको चापाकोटमा रहेको विष्णुको माइतीघरमा प्रहरीको टोली पुगेर सोधपुछ गर्दा उनी लामो समयदेखि माइतीघर नआएको पाइएको स्याङ्जाका एसपी होबिन्द्र बोगटीले बताए । उनका अनुसार, राष्ट्रिय मानव अधिकार आयोगकले माझीको अवस्थाबारे चासो व्यक्त गरेपछि प्रहरीले विष्णु माझीको माइतीघर पुगेर सोधपुछ गरेको हो ।
२ बर्ष अगाडि गायिका विष्णु माझी र उनका श्रीमान् सुन्दरमणी अधिकारी स्याङ्जा प्रशासनमा उपस्थित भएर आफ्नो भनाई राखेका थिए । सो समयमा गायिका माझीले आफू कुनै दबाबका कारण नभई रहरले नै सार्वजनिक रुपमा हिडडुल नगरेको बताएकी थिइन् । थुप्रै लोकप्रिय गीतहरुमा स्वर दिएकी गायिका माझी सार्वजनिक जीवनमा कहिल्यै नदेखिएकाले उनलाई श्रीमानले बन्धक बनाएर राखेको चर्चा पहिल्यैदेखि चल्दै आएको छ ।