चलचित्र ‘चिठ्ठी’ को छायांकन सुरु भएको छ । आइतवार काभ्रेको दोलालघाटमा मुहूर्त गर्दै चलचित्रको छायांकन थालिएको हो । माधवराज खरेलले निर्देशन गरिरहेको चलचित्रको दोलालघाटपछि काठमाडौंमा छायांकन हुनेछ । सस्पेन्स कमेडी कथामा बन्ने चलचित्रको निर्मातामा कमला जोशी र राजन थापा छन् ।

चलचित्रमा सन्जित भण्डारी मुख्य नायकको भूमिकामा छन् । चलचित्र ‘लम्फू’ बाट अभिनय करिअर सुरु गरेका उनले गत महिना चलचित्र ‘आँधी तुफान २’ को छायांकन पूरा गरेका थिए । ‘चिठ्ठी’ मा उनको जोडी नव-अभिनेत्री कन्चन चालिसेसँग बाँधिएको छ । चलचित्रमा आफ्नो भूमिका सशक्त रहेको र दर्शकलाई फरक र नौलो लाग्ने उनको विश्वास छ ।
यस चलचित्रमा श्रीदेव भट्टराई, नम्रता खरेल, मोहन निरौला, शान्ति प्रिय, गोपाल ढकाल ‘छन्दे’, खड्ग बहादुर पुन मगर, मुस्कान लामा, पुष्कर राउत, अस्मिन कार्की लगायतका कलाकारहरुको पनि अभिनय देख्न पाइनेछ । चलचित्रलाई यसै वर्ष प्रदर्शन गर्ने निर्माण टिमको योजना छ ।