बहुपति प्रथामा बनेको ‘टुल्की’ को टिजर रिलिज



बहुपति प्रथामाथि निर्माण भएको चलचित्र ‘टुल्की’ को फर्स्टलुक पोस्टर र टिजर सार्वजनिक भएको छ । बुधवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको टिजर संवादविहीन छ । डोल्पाको तल्लो भागमा बसोबास गर्ने ब्राह्मण परिवारमा जन्मिएकी एक युवतीले माथिल्लो डोल्पाको शेर्पासँग प्रेम विवाह गरेर गएपछि उनले भोग्नु परेको पीडा र व्यथामा चलचित्र आधारित छ ।

चलचित्रको टाइटल क्यारेक्टरमा स्वस्तिमा कार्की छिन् । उनले यही चलचित्रबाट नायिकाको रुपमा डेब्यू गर्न लागेकी हुन् । देवजंग थापाको निर्देशन रहेको चलचित्रमा शिशिर वाङ्देल, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, सोफिया लिम्बु, दीर्घ लामा, भक्तसिंह कठायत लगायतको पनि अभिनय छ । ९० लाखमा निर्माण भएको चलचित्रलाई निर्देशक थापाले नै छायांकन गरेका हुन् ।

कार्यक्रममा बोल्दै कलाकार शिशिर वाङ्देलले यो चलचित्र आफ्नो करिअरमा एउटा इट्टा थप्ने विश्वास व्यक्त गरे । उनले भने, ‘मैले आजसम्म यति पृथक विषयवस्तु र भूमिकामा काम गरेको थिइनँ । यो साँचिक्कै माटो सुहाउँदो चलचित्र हो । यो चलचित्र प्रदर्शन भएपछि मलाई भोलीका दिनमा यसप्रकारका भूमिकाबाट अफर आउन सक्ने सम्भावना देख्छु । यसले गर्दा यो मेरो करिअरको टर्निङ पोइन्ट हुन सक्छ ।’

लक्ष्मण सुनुवारको कथा, संजिव लिम्बुको संगीत, तारा थापा ‘किम्भे’ को सम्पादन रहेको चलचित्रको निर्मातामा आर.पि कर्माचार्य र शेखर लामा निर्माताको रुपमा छन् । चलचित्रलाई श्रीदेव विएल नेपालभन्दा पहिला विदेशका विभिन्न ठाउँमा प्रदर्शन गरिने निर्माता शेखर लामाले बताए । चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शनको जिम्मेवारी श्रीदेव विएलले लिएका छन् । सबैभन्दा पहिला चलचित्र यूकेमा प्रदर्शन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu