नेपालकी पुनमले बनाउँदैछिन् बलिउड चलचित्र



एक नेपाली महिलाले बलिउड चलचित्र निर्माण गर्ने भएकी छन् । देशसँगै विदेशमा समेत आफ्नो व्यवसाय फैलाइसकेकी पुनम यादवले बलिउड चलचित्र बनाउन लागेकी हुन् । नेपालको तराई भेगमा जन्मिएकी उनी चाँडै आफ्नो पहिलो बलिउड चलचित्रको घोषणा गर्ने तयारीमा छिन् । ठूलो बजेटमा बन्न लागेको चलचित्रको अहिले स्क्रिप्ट लेखनको काम भइरहेको उनले बताएकी छन् ।

आफूले बनाउन लागेको बलिउड चलचित्रमा नेपाली कलाकारहरुलाई पनि अवसर दिने पुनमको भनाई छ । नेपाली कलाकारलाई संसारभर चिनाउनु नै आफ्नो उद्देश्य रहेको उनी बताउँछिन् । पुनम बलिउडअघि नेपाली चलचित्र निर्माणको तयारीमा छिन् । उनको पहिलो नेपाली चलचित्रलाई दीवाकर भट्टराईले निर्देशन गर्नेछन् । यो चलचित्रको पनि अहिले स्क्रिप्टमा काम भइरहेको छ ।

पुनम बलिउड र नेपाली चलचित्र निर्माणको तयारीमा भए पनि उनले निर्माण गरेको एक हिन्दी गीत भने सार्वजनिक भइसकेको छ । दुई हप्ता अगाडि भारतको ‘पप चार्टबस्टर्स’ नामक यूट्युब च्यानलबाट सार्वजनिक भएको ‘इबादत बन गए हो’ बोलको रोमान्टिक गीतलाई पुनमले निर्माण गरेकी हुन् । गीतमा नेपाली गायिका स्मिता दाहाल र भारतका चर्चित गायक शबाब साबरीले स्वर छ ।

यूट्युब रिलिजको दुई हप्तामा चार लाखभन्दा बढी भ्यूज बटुल्न सफल भएको गीतलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेको छ । १ करोडको लागतमा बनेको गीतको भिडियोमा गायिका स्मिता आफैं फिचर्ड छिन् भने उनको जोडी भारतीय टेलिभिजनका चर्चित कलाकार अर्जुन बिज्लानीसँग बाँधिएको छ । गीतमा गायक सबरी स्वयंको संगीत र केआर वाहीको शब्द रचना रहेको छ ।

‘इबादत बन गए हो’ गीतलाई दर्शकले निकै रुचाएपछि पुनमले अर्को हिन्दी गीत पनि निर्माण गरेकी छन्, जुन चाँडै भारतको ‘टि सिरिज’ कम्पनीको यूट्युब च्यानलबाट सार्वजनिक हुनेछ । मनोरञ्जन क्षेत्रमा मधेशका महिलाको सहभागिता बढाउने उद्देश्य बोकेर चलचित्र र गीत निर्माणमा होमिएकी उनी नेपालको राजनीतिमा पनि सक्रिय रहेकी छन् । उनी एक सफल ‘विजनेश वुमन’ पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu