चलचित्र ‘हिजो आजका कुरा’ प्रदर्शनका लागि माहोल बनाउन लागिपरेको छ । चलचित्रका निर्देशक साकार पन्तले राष्ट्रिय चलचित्र दिवस (असोज १) को अवसरमा सम्पूर्ण चलचित्रकर्मी तथा चलचित्रप्रेमीमा शुभकामना व्यक्त गर्दै आफूहरु चलचित्र रिलिज गर्न आतुर रहेको बताएका हुन् । प्रदर्शनका लागि सम्पूर्ण तयारी सकेर प्रचार-प्रसारलाई तीव्रता दिँदै गर्दा ०७६ चैत्र ११ देखि भएको लकडाउनको मारमा परेको ‘हिजो आजका कुरा’ अब छिट्टै नै दर्शकमाझ आउन लागेको हो ।
‘हामी चलचित्र रिलिज गर्न निकै आतुर छौं । त्यसकारण हल सञ्चालक, वितरकहरुसँग छलफल गरिरहेका छौ,’ निर्देशक पन्त भन्छन्, ‘अहिले कोरोना संक्रमण घट्दै गइरहेको र जनजीवन पनि सामान्य बन्दै गइरहेको छ । त्यसकारण अब हामी चलचित्र प्रदर्शनको तयारीमा लागेका छौं । चलचित्र बिकास बोर्ड, हल सञ्चालक, वितरक सबैको साथ भएमा चलचित्र क्षेत्र चलायमान गराउनका लागि हामी अघि बढ्न तयार छौं । केही दिनमै चलचित्रको प्रदर्शन मिति तय गर्नेछौं ।’

पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, दिब्यदेव पन्त, रिमा विश्वकर्मा, जयनन्द लामा, जेविका कार्की, रमेश अधिकारी, बिनय कुँइकेल, अनुष्का अधिकारी लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा सन्तोष पन्तको कथा र निर्माण छ । निर्देशक साकार सन्तोष पन्तका छोरा हुन् ।
रवि सायमीले खिचेको चलचित्रमा सन्दीप किस्नाको पटकथा छ । फिल्मको कार्यकारी निर्मातामा प्रतिभा पन्त, सह(निर्मातामा बैकुण्ठप्रसाद उपाध्याय (अशोक) र सचितकुमार मिश्र छन् । फिल्मको ‘माया जदौ’ गीत युट्युवमा २ करोड ४० लाख पटक हेरिसकिएको छ । पूर्व घोषित मितिमा प्रदर्शन हुन पाएको भए यो गीतले चलचित्रको व्यापारमा ठूलो सघाउ पुर्याउन सक्ने थियो ।
पहिला ‘हिजो आजका कुरा’ ०७७ बैशाख १२ गते प्रदर्शन हुने तयारीमा थियो । सोहीअनुसार प्रचार-प्रसार पनि सुरु भइसकेको थियो । तर, कोरोना भाइरसका कारण भएको देशव्यापी लकडाउनले गर्दा अझैसम्म पनि हलहरु सञ्चालनमा आउन सकेका छैनन् । ‘हिजो आजका कुरा’ लाई दशैं वा त्यसपछि रिलिज गर्नका लागि पनि नेपाल चलचित्र संघ निमातासँग छलफलमा छ ।