‘राजा आउँ देश बचाउँ’ भन्ने अधिकार मसँग छैन : शिव श्रेष्ठ



राजावादी संस्था ‘नेपाली जनता’ ले यही असोज ३ गते माइतीघर माण्डलामा राजसंस्था, हिन्दु राष्ट्र र २०४७ सालको संविधान पुनर्स्थापनाको माग गर्दै निकाल्न लागेको र्‍यालीसहितको भेलामा सहभागी हुन अभिनेता शिव श्रेष्ठले एक भिडियोमार्फत आम नागरिकलाई आग्रह गरेपछि उनी विवादमा तानिएका छन् । उनलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘राजावादी’ को संज्ञा दिएका छन् ।

तर, अभिनेता श्रेष्ठले राजसंस्था पुनर्स्थापनाका लागि आफूले जनतालाई सडकमा उत्रिन आग्रह नगरेको स्पष्ट पारेका छन् । आफूले राष्ट्रका लागि सहभागी हुन आग्रह गरेको बताउँदै उनले ठूलो पर्दासँगको एक भेटमा भने- ‘मैले राजतन्त्र फर्काउनु पर्छ भनेर भनेको छैन । मेरो एउटै कुरा के हो भने पृथ्वीनारायण शाहले आर्जेको देशलाई विदेशीको हातमा सुम्पिनु हुँदैन । यसैको विरोध गर्न सहभागी हुनुस् भनेको हुँ ।’

अभिनेता शिव श्रेष्ठ

‘राजा आउँ देश बचाउँ’ भन्ने अधिकार आफूसँग नभएको बताउँदै उनले यसको अधिकार जनतासँग रहेको र आफू जनताको बोली बोल्ने बताए । पूर्वराजा ज्ञानेन्द्र शाहले जनताको नासो जनतालाई सुम्पिएका कारण आफ्नो नजरमा पूर्वराजा महान् रहेको उनी बताउँछन् । राजा मेहन्द्रलाई समेत आफूले भेट गर्न पाएको स्मरण गर्दै उनले देश पशुपतिनाथको कृपाले चलिरहेको बताए ।

आफू राजावादी, लोकतन्त्रवादी वा गणतन्त्रवादी नभइ कलाकारवादी रहेको उनले बताए । आजका दिनसम्म कुनै पार्टीसँग आबद्ध नभएको स्पष्ट पार्दै अभिनेता श्रेष्ठले राजतन्त्र राजाले चाहेर पनि नफर्किने तर्क गरे । ‘शिव श्रेष्ठले राजा फर्काउने कदापी होइन । राजा फर्काउन जनता नै चाहिन्छ । यदी देशका लागि राम्रो हुन्छ भने राजा फर्काउनु पनि पर्छ र जनताले फर्काउँछन्,’ उनले भने ।

देशमा जुन तन्त्र आए पनि भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वभिमानमा कहिल्यै आँच आउन नहुने शिव श्रेष्ठको धारणा छ । उनी भन्छन्, ‘देशमा राजतन्त्र, लोकतन्त्र, गणतन्त्र सबै आयो । यो तन्त्रले जनतालाई मन्त्र लगाएर खत्तम बनाएको छ । त्यसैले जुन तन्त्र आए पनि देशको झन्डामुनी हामी सधैं नेपाली भएर बस्न पाउँ । देशमा कुन तन्त्र ल्याउने भन्ने निर्णय त जनताले गर्नेछन् ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu