नेपाली चलचित्र क्षेत्रमा लामो समय राज गरेका दुई सुपरस्टार शिव श्रेष्ठ र भुवन केसीबीच सुमधुर सम्बन्ध कायम छ । ‘चिनो, राजु राजा राम, संकल्प, सपना’ लगायतका चलचित्रमा एकसाथ काम गरेका उनीहरुलाई एक समय एकअर्काका प्रतिस्पर्धी समेत भन्ने गरिन्थ्यो । तर, यसले उनीहरुको व्यक्तिगत सम्बन्धमा भने कहिल्यै तिक्तता आएन । आजका दिनमा पनि उनीहरुबीच उतिक्कै मिल्ती छ ।
शिव र भुवनले नेपाली फिल्मसँगै केही पाकिस्तानी चलचित्रमा समेत एकसाथ अभिनय गरेका छन् । शिवले नै भुवनलाई पाकिस्तान लिएर गएका थिए । विगत १६ वर्षदेखि उनीहरुले चलचित्रमा भने काम गरेका थिएनन् । चलचित्र ‘राजु राजा राम’ पछि निर्देशक शोभित बस्नेतले यो जोडीलाई फेरि पर्दामा लिएर आएका छन् । चलचित्र ‘डाँडाको वरपीपल’ मा उनीहरुको अभिनय रहेको छ ।

आइतवार चलचित्रको ‘काट्दिम्ला जुँगा जम्मै’ बोलको पहिलो गीत सार्वजनिक कार्यक्रममा उनीहरुले एकअर्काकै प्रशंसामा शब्द खर्चिए । पाकिस्तान थर्काएर नेपाललाई विश्वमाझ चिनाएकोमा भुवनले शिवलाई असली ‘महानायक’ घोषित गरे भने शिवले भुवनकै कारण धरापमा पुगेको नेपाली चलचित्र इन्डस्ट्री बचेको तर्क गरे । उनले चलचित्र निर्माणमा भुवन केसी जादूगर रहेको पनि बताए ।
उनी भन्छन्, ‘नेपालले भुवन केसीप्रति गर्व गर्नुपर्छ । किनकि, भुवन केसी नभइदिएको भए नेपाली चलचित्र इन्डस्ट्री जमानामा बन्द भइसक्थ्यो । त्यसबेला कोही माइकलाल जन्मिएको थिएन, जुन बेला चलचित्र इन्डस्ट्री धराप भइसकेको थियो । त्यसबेला भुवन केसीजीले चलचित्र ‘करोडपति’ लिएर आउनुभयो । उहाँले यो चलचित्र नबनाउनुभएको भए सायद आज हामी यो ठाउँमा हुन्थेनौं ।’