अभिनेता पुष्प खड्काले पहिलो पटक सौगात मल्ल र अनमोल केसीसँग एकसाथ काम गर्दैछन् । नेपालकै सबैभन्दा ठूलो एक्सन-थ्रिलर चलचित्र दाबी गरिएको ‘एक्स ९’ मा उनीहरुबीच सहकार्य भएको हो । अहिले उनीहरु चलचित्रका लागि जिममा पसिना बगाइरहेका छन् । चलचित्रमा तेक्वान्दो शैलीको एक्सन हुने भएकाले पुष्प, सौगात र अनमोलले आफ्नो शरीरलाई ‘हेभी’ बनाउनु पर्नेछ ।
चार महिनासम्म चल्ने जिम र एक्सनको तामिलका लागि निर्माण टिमले हरेक कलाकारलाई पर्सनल ट्रेनर उपलब्ध गराएर प्रत्येक दिन तीन घन्टासम्म राजधानीको एक जिम ट्रेनिङ हल भाडामा लिएको छ । जिम ट्रेनिङपछि कलाकारलाई चाहिने ‘डाइट प्लान’ पनि निर्माण टिमले नै उपलब्ध गराएको छ । अबको एक हप्तापछि सौगात, अनमोल र पुष्पले एक्सन तालिम पनि सुरु गर्नेछन् ।

पुष्पले चलचित्रका लागि आफूले २० केजी तौल बढाउनु पर्ने बताए । हरेक दिन तीन घन्टा जिममा विताउने गरेका उनले तीन हप्तामा चार केजी तौल बढाइसकेका छन् । ‘चलचित्रमा एकदमै हेभी फाइटहरु छ । भिलेनहरु पनि एकदमै हेभी हुनेछन् । त्यसैले म पनि शारीरिक रुपमा हेभी देखिनुपर्नेछ । २० केजी तौल बढाउनु भनेको मोटाउनु होइन, शरीरका मसल्सहरु बढाउनु हो,’ उनले भने ।
कोरोना महामारीले थलिएको चलचित्र इन्डस्ट्रीलाई उठाउनका लागि आफूले मल्टीस्टारर चलचित्रमा काम गर्न लागेको उनले बताए । स्क्रिप्ट मन परेको छ र स्क्रिप्टका क्यारेक्टरहरु सबै बलियो छ भने मल्टीस्टारर चलचित्रमा काम गर्न कुनै आपत्ति नभएको उनी बताउँछन् । मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको यस चलचित्रमा राज कटुवालको पनि मुख्य भूमिका रहनेछ ।