कोरोना महामारीका कारण चार महिना बन्द भएका सिनेमा हललाई गत महिना काठमाडौंसहित देशका विभिन्न जिल्ला प्रशासन कार्यालयले सञ्चालनको अनुमति दिएको छ । तर, नयाँ चलचित्र नहुँदा सिनेमा हल खुल्न सकेका छैनन् । यतिबेला चलचित्र रिलिजका लागि चलचित्र निर्माता संघ, नेपाल चलचित्र संघ लगायतका संघ-संस्थाहरुले दिनहुँ निर्मातासँग छलफल गरिरहेका छन् ।

हल व्यवसायी तथा चलचित्र निर्माता अशोक शर्माले दशैंबाट जसरी पनि सिनेमा हल खोल्ने बताए । ‘हल नखोलेसम्म इन्डस्ट्री चलायमान हुँदैन । निर्मातालाई के सुविधा दिन सकिन्छ त्यसमा हामी लचक छौं । निर्मातालाई प्रतिशत बढी दिएर हुन्छ वा चलचित्र विकास बोर्डले आर्थिक सहयोग गरेर हुन्छ हामी सबै पक्षसँग छलफल गरेर चाँँडै टुंगोमा पुग्नेछौं,’ आइतवार एक कार्यक्रममा उनले भने ।
निर्मातालाई कसरी सुरक्षित गर्ने भन्नेमा विषयमा छलफल भइरहेको बताउँदै उनले अगाडि भने, ‘निर्माताको एकचोटी गयो भने त गइगयो । प्रदर्शकहरु त एउटा चलचित्रबाट भएन भने अर्को चलचित्रबाट उठ्न सक्छन् । यसकारण निर्मातालाई कसरी सुरक्षित गर्ने भनेर हामी गम्भीर रुपमा लागिरहेका छौं ।’ केही दिनमै चलचित्र रिलिजको विषयमा खुसीको खबर सुन्न पाइने उनले बताए ।