अभिनेता सलोन बस्नेतले अभिनय गरेको नयाँ चलचित्र ‘डाँडाको बर पीपल’ यही असोज २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । चित्लाङको छायांकन सेड्युल पूरा भएपछि निर्माण टिमले आइतवार चलचित्रको पहिलो गीत सार्वजनिक गर्यो । गीतमा सलोनले शिव श्रेष्ठ, भुवन केसी र गौरी मल्लसँग एकसाथ ठुम्का लगाएका छन् । चलचित्रमा उनको जोडी रुविना थापासँँग बाँधिएको छ ।
गीत सार्वजनिक कार्यक्रममा शिव श्रेष्ठ र भुवन केसीबीच उपाधि दिन चलेको प्रतिस्पर्धाले यतिबेला ठूलै तरंग ल्याएको छ । जसले गर्दा कार्यक्रममा विशेष रुपमा प्रस्तुत भएका सलोन बस्नेत पूरै ओझेल बने । अग्रजको सम्मानका लागि शिव श्रेष्ठ, भुवन केसी र गौरी मल्लको तस्बिर प्रिन्ट गरेको कोट लगाएर उनी कार्यक्रममा पुगेका थिए । यसको मिडियामा राम्रै चर्चा हुने उनको विश्वास थियो ।

तर, कार्यक्रममा शिव श्रेष्ठ र भुवन केसीले चलचित्रको भन्दा ज्यादा ‘महानायक र महानायिका’ को विषयमा आफ्नो भनाई राखेपछि मिडियामा पनि यही विषयले स्थान पायो, सलोनको चर्चै भएन । उनले सुटिङ भइरहँदा नै कार्यक्रममा यस्तो पहिरन लगाउनेबारे सोचेका थिए । त्यसैअनुरुप उनले कोर्ट तयार गरे । तर, माहोल यस्तो बनिदियो कि उनले लगाएको कोर्टलाई कसैले वास्तै गरेनन् ।
कार्यक्रममा उनले आफूले लगाएको कोटमा शिव श्रेष्ठ, भुवन केसी र गौरी मल्लको तस्बिर प्रिन्ट गर्नुको कारणबारे भनेका थिए, ‘यो चलचित्रबाट कमाएको र सिक्न पाएको मान्छेहरुलाई मैले मेरो शरीरमा बोकेर आएको छु । मैले उहाँहरुलाई यो फिल्मबाट कमाएँ । चलचित्र इन्डस्ट्रीमा भएका कलाकारहरुमध्ये म जति भाग्यमानी सायद कोही छैन होला र हुन पनि सक्ला जस्तो लाग्दैन ।’
भुवन केसी अभिनीत चलचित्र ‘करोडपति’ बाट सलोन बाल कलाकारको रुपमा चलचित्र क्षेत्रमा भित्रिएका थिए । बाल कलाकारकै रुपमा उनले शिव श्रेष्ठ र गौरी मल्लसँँग पनि केही चलचित्रमा अभिनय गरेका छन् । नायक भएर उनले तीनै सुपरस्टारसँँग पहिलो पटक स्क्रिन शेयर गरेको चलचित्र भने ‘डाँडाको बर पीपल’ हो । यो चलचित्रका निर्देशक सलोनका पिता शोभित बस्नेत हुन् ।