२०७६ को सुपरहिट चलचित्र ‘छ माया छपक्कै’ पछि निर्माता रोहित अधिकारीले दीपकराज गिरी र दीपाश्री निरौलाको ‘छक्का पञ्जा’ टिमसँग फेरि सहकार्य गरेर नयाँ चलचित्र बनाउने तयारीमा जुटेका छन् । अहिले दुईवटा चलचित्रको स्क्रिप्ट लेखनमा काम भइरहेको छ, जसमध्ये एउटा चलचित्रको नाम ‘कालो कोट’ हो । यो चलचित्रको स्क्रिप्टलाई प्रदीप भारद्वाजले लेखिरहेका छन् ।

निर्माता अधिकारीले चलचित्रको कथा राम्रो भएकाले अहिले स्क्रिनप्लेमा काम भइरहेको बताए । उनले भने- ‘कथा हामीलाई एकदमै राम्रो लागेको छ । स्क्रिनप्ले (पटकथा) पनि सोचेको जस्तो निस्कियो भने चलचित्र बन्छ ।’ लेखक भारद्वाजले कथासँग मिल्ने गरी चलचित्रको नाम ‘कालो कोट’ जुराएका हुन् । तर, ‘छक्का पञ्जा’ टिमलाई फापेको ‘छ’ नामबाटै चलचित्रको नाम राख्न खोजिएको छ ।
चलचित्रलाई कसले निर्देशन गर्ने भन्ने टुंगो नभइसके पनि ‘झ्यानाकुटी’ निर्देशक सिमोस सुनुवारको पल्ला भारी छ । चलचित्रमा ‘छक्का पञ्जा’ समुहका कलाकारहरुको नै अभिनय रहनेछ तर जितु नेपालबाहेक । स्क्रिनप्ले ‘लक’ भएपछि चलचित्रमा भिलेनको भूमिकामा सौगात मल्ललाई लिने सोचमा निर्माण टिम छ । त्यस्तै, चलचित्रमा तीन जना स्थापित अभिनेत्रीहरु रहनेछन् ।