शोभितले माफी माग्दै भने- ‘मैले ‘महानायक’ भन्दा ‘सुपरस्टार’ ठूलो बुझेछु’



अभिनेता राजेश हमाललाई दिइएको ‘महानायक’ पदवीलाई लिएर बेला-बखतमा ठूलै विवाद जन्मिने गरेको छ । गत वर्ष दीपाश्री निरौलाले ‘महानायक’ विवाद झिकेपछि चलचित्र क्षेत्र लामो समय यसैमा रुमलियो । अघिल्लो हप्ता एक कार्यक्रममा भुवन केसीले शिव श्रेष्ठलाई र निर्देशक शोभित बस्नेतले भुवन केसीलाई ‘महानायक’ को रुपमा सम्बोधन गरेपछि यो विवाद फेरि चर्किएको छ ।

आफू निर्देशित चलचित्र ‘डाँडाको बर पीपल’ को पहिलो गीत सार्वजनिक कार्यक्रममा भुवन केसीलाई ‘नेपाली चलचित्र क्षेत्रको एक मात्र महानायक’ भनेपछि विवादमा तानिएका निर्देशक बस्नेतले आफ्नो बोलीमा चलचित्रकर्मी र दर्शक सहमत नभएपछि आइतवार चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा राजेश हमाललाई नै ‘महानायक’ को रुपमा स्वीकार गरेको घोषणा गरे ।

राजेश हमालको तस्विरलाई प्रमुख अतिथी बनाएर कार्यक्रम सुरु गरेका उनले अब भुवन केसीलाई ‘महानायक’ नभन्ने वाचा गरे । उनले भने, ‘म गलत रहेछु । मैले सधैं राजेश हमाललाई सुपरस्टार भनेँ । मलाई लागेको थियो कि सुपरस्टारभन्दा ठूलो पदवी अरु छैन । तर, मैले उहाँलाई सुपरस्टार भन्दा धेरैले विरोध गरेँ । त्यसैले हात जोडेर माफी माग्छु कि मैले ‘महानायक’ भन्दा ‘सुपरस्टार’ ठूलो बुझेछु । अब म पनि राजेश हमाललाई ‘महानायक’ भन्छु । उहाँ ‘महानायक’ नै हुन् र सधैंभरी रहिरहनु हुनेछ ।’

राजेश हमाललाई ‘महानायक’ स्वीकार गरेका कारण कार्यक्रममा तस्विरलाई प्रमुख अतिथी बनाएको बताउँदै निर्देशक बस्नेतले अब आफूले भुवन केसीलाई सधैं ‘सुपरस्टार’ मात्र भन्ने बताए । उनले चाँडै राजेश हमाललाई लिएर नयाँ चलचित्र बनाउने पनि घोषणा गरेका छन् । चलचित्रको प्रचारमा फाइदा पुग्ने सोचले ‘महानायक’ विवाद नझिकेको पनि उनले स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu