‘कठपुतली’ ले जित्यो अमेरिकाको विन्टर फिल्म फेस्टिभलमा दुई अवार्ड



नेपाली हरर चलचित्र ‘कठपुतली’ ले अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’ मा दुईवटा महत्त्वपूर्ण अवार्ड जित्न सफल भएको छ । सेप्टेम्बर २३ देखि अक्टोबर २ सम्म चलेको फेस्टिभलमा चलचित्रले ‘बेस्ट हरर फिचर फिल्म’ र ‘इन्डी पिक्स अवार्ड’ जितेको हो । फेस्टिभलमा यो चलचित्र ‘विन्टर फियर अवार्ड हरर फिल्म कम्पिटिसन’ विधामा छनोट भएको थियो ।

हरर विधातर्फ उत्कृष्ट बनेको यो चलचित्रले जितेको ‘इन्डी पिक्स अवार्ड’अमेरिकाको ओटिटि प्लाटफर्ममा आधारित छ । यो अवार्ड जित्नु भनेको ‘इन्डी पिक्स’ नामक ओटिटि प्लाटफर्मले रिलीजको लागि अफर गर्नु हो । उक्त फेस्टिभलमा जम्मा चारवटा चलचित्रहरुले यो अवार्ड जितेका छन् ।

चलचित्रले दुईवटा अवार्ड जितेकोमा निर्माता पृथ्वी राना मगरले खुसी व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय मञ्चमा लैजाने मेरो सपना अन्ततः पूरा भएको छ । यसका लागि मैले २० वर्षदेखि यात्रा सुरु गरेको थिएँ । कयौं पटक निराश पनि भएँ तर चलचित्र निर्माणको जोश कहिल्यै कम भएन । यो अवार्डले चलचित्र निर्माणमा थप हौसला दिएको छ ।’

चलचित्रका निर्देशक भिमसेन लामाले यो सफलताको लागि आफुलाई बिश्वास गर्ने चलचित्रको सम्पूर्ण टिम जिम्मेवार रहेको बताए । सम्पदा मल्लको कथा, पटकथा र संवाद रहेको चलचित्रमा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा लगायतको अभिनय छ । चलचित्रलाई चाँडै नेपालमा प्रदर्शन गर्ने तयारीमा निर्माण टिम छ । अवस्था सामान्य बन्दै गएकाले आगामी पुस–माघसम्म चलचित्रलाई रिलिज गरिने निर्माता मगरले बताए । हरर चलचित्रमा ‘कठपुतली’ ले एउटा इट्टा थप्ने उनको विश्वास छ ।

चलचित्रको सह-निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् । पृथ्वी राना प्रोडक्सनको ब्यानरमा बनेको ‘कठपुतली’ अन्य हरर चलचित्रभन्दा भिन्न रहेको निर्देशक भिमसेन लामाले बताएका छन् । उनी यो चलचित्र आफ्नो ड्रिम प्रोजेक्ट रहेको बताउँछन् । पोस्ट प्रोडक्सनको सम्पूर्ण काम लण्डनको स्टूडियोमा भएको यो चलचित्र प्रतिष्ठित ‘हर्टल्यान्ड इन्टरनेसनल फिल्म फेस्टिभल’ मा समेत छनोटमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu