अभिनेता भुवन केसीले पहिला सिनेमा हलसँँग आफ्नो लडाइँ हुने गरेको भए पनि यो समयमा आफू हलकै पक्षमा रहेको बताएका छन् । मंगलवार चलचित्र विकास बोर्डले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सिनेमा हल रहे मात्र कलाकार र कलाकारिता रहने बताए । यो समयमा हललाई बचाउन एकदमै आवश्यक रहेको उनको भनाई छ ।
उनले भने, ‘पहिला सिनेमा हलसँग मेरो विवाद भइरहन्थ्यो । हलले नेपाली चलचित्रभन्दा विदेशी चलचित्रलाई पहिलो प्राथमिकतामा राख्यो भनेर हलसँग मेरो लडाइँ सधैं हुँदै आएको छ । तर, आजको दिन चाहिँ म हलको पक्षमा छु । जब सिनेमा हल नै रहँदैन तब न हामी कलाकार रहन्छौं न हाम्रो कलाकारिता रहन्छ ।’ उनले अब सिनेमा हल कुनै हालतमा बन्द गर्न नहुने बताए ।

कार्यक्रममा उनले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सक्ने आफूसँग योजना रहेको पनि बताए । उनले भने, ‘अब नेपाली चलचित्रलाई नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय बजारमा पनि लैजानुपर्छ । यसका लागि हामी स्तरीय चलचित्र निर्माणमा जोड दियौं । म पनि अंग्रेजीमा सबटाइटल गरेर वा डबिङ गरेर होस् नेपाली चलचित्रलाई विश्वभरी पुर्याउने उद्देश्यमा लागिपरेको छु ।’
उनले राज्यको पहिलो प्राथमिकतामा चलचित्र उद्योग नपरेकोमा पनि असन्तुष्टि व्यक्त गरेका छन् । संसारमा हरेक राष्ट्रले आफ्नो चलचित्र उद्योगलाई पहिलो प्राथमिकतामा राख्ने गरेको भएता पनि नेपालमा चलचित्र उद्योग किन तेस्रो र चौथो प्राथमिकतामा परेको छ ? भनेर उनले प्रश्न गरेका छन् । राज्यको पहिलो प्राथमिकतामा नेपाली कला, संस्कृति, चलचित्र र भाषा हुनुपर्ने उनको भनाई छ ।




