कोरोना संक्रमण रोकथामका लागि बैशाख ६ गते काठमाडौंसहितका जिल्ला प्रशासन कार्यालयले सिनेमा हलहरु अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको थियो । त्यसअघि पनि सिनेमा हल ९ महिना बन्द भएका थिए । गत पुषमा सरकारले हल सञ्चालनको अनुमति दिए पनि संक्रमण फेरि भयावह रुपमा फैलिएपछि सरकारले तीन महिनामै फेरि हल बन्द गर्ने निर्णय गरेको थियो ।
पाँच महिनादेखि बन्द रहेका सिनेमा हललाई गत महिना प्रशासन कार्यालयले स्वास्थ्य सुरक्षा अपनाएर हल खोल्न अनुमति दियो । तर, प्रदर्शनका लागि फिल्म नहुँदा हल बन्दको बन्दै थिए । जब बलिउडका ठूला चलचित्रले भकाभक प्रदर्शन मिति घोषणा गरे त्यसपछि हल व्यवसायीहरुको संस्था नेपाल चलचित्र संघले दशैंलाई लक्षित गरेर असोज २१ गतेदेखि हल खोल्ने निर्णय गर्यो ।

चलचित्र संघको निर्णय अनुसार आज (घटस्थापना) बाट एकाधबाहेक देशभरका सिनेमा हलहरु खुलेका छन् । तर, नेपाली फिल्म नभएकाले हल व्यवसायीहरुले हलिउड चलचित्र देखाएर हलको पर्दा उघारेका छन् । मल्टीप्लेक्स र सिंगल थिएटरहरुमा आजबाट हलिउड चलचित्र ‘फास्ट एन्ड फ्यूरियस ९’ प्रदर्शनमा आएको छ । कोरोनाका कारण यो चलचित्र नेपालमा प्रदर्शन हुन सकेको थिएन ।
चलचित्र प्रदर्शनका लागि निर्माताहरुलाई आकर्षित गर्न चलचित्र विकास बोर्डले राहत प्याकेजको समेत घोषणा गरेको छ । सिनेमा हल खुलेको तीन महिनाको अवधिभित्र रिलिज हुने नेपाली चलचित्रलाई बोर्डले सर्भर इनकोडिङ, पब्लिसिटी, प्रचार सामाग्री छपाई लगायतको शिर्षकमा सहयोग गर्दैछ । असोज २६ गतेबाट नेपाली चलचित्र ‘डाँडाको बर पीपल’ प्रदर्शनमा आउँदैछ ।




