सुनिल सेट्टीलाई मन पर्‍यो ‘एक्स नाइन’ को चरित्र



तीन सुपरस्टार सौगात मल्ल, अनमोल केसी र पुष्प खड्काले एकसाथ अभिनय गर्न लागेको चलचित्र ‘एक्स नाइन’ का निर्देशक मुकुन्द भट्ट र निर्माता विरेन कुँवरले बलिउड सुपरस्टार सुनिल सेट्टीसँग भेट गरेका छन् । उनीहरुले शुक्रवार मुम्बईमा सेट्टीसँग भेट गर्दै चलचित्रको कथावस्तु र उनको चरित्रको बारेमा जानकारी गराएका हुन् । सुनिलले आफूलाई सुनाएको चरित्र मन पराएका छन् ।

सुनिल सेट्टीसँँगको भेट गरेको तस्विर फेसबुकमा साझेदार गर्दै निर्देशक भट्टले लेखेका छन्, ‘हाम्रो चलचित्र ‘एक्स नाइन’ का लागि सुनिल सेट्टीसँँग राम्रो बैठक भयो । उहाँलाई मेरो अघिल्लो चलचित्र र उहाँलाई सुनाएको ‘एक्स नाइन’ को चरित्र एकदमै मन परेको छ ।’ चलचित्रमा सुनिल सेट्टीले काम गर्ने मौखिम सहमति भइसकेको र केही दिनमा कागजी सम्झौता हुने निर्देशक भट्टले बताए ।

पहिला सुनिल सेट्टीलाई भिलेनको भूमिका अफर गर्ने तयारीमा निर्माण टिम थियो । तर, अब उनी चलचित्रमा सकारात्मक भूमिकामा देखिनेछन् । उनीसँँग भारु एक करोडमा सम्झौता गर्ने तयारीमा निर्माण टिम रहेको जानकारी प्राप्त छ । चलचित्रका लागि भिलेनको भूमिका भने रणदीप हुड्डालाई अफर गरिएको छ । उनीसँग निर्देशक भट्टसहितको टोलीले केही चरण कुराकानी गरिसकेका छ ।

अहिले चलचित्रका कलाकारहरु सौगात, अनमोल पुष्प र राज कटुवालले जिम र एक्सन ट्रेनिङ लिइरहेका छन् । यो ट्रेनिङ चार महिनासम्म चल्नेछ । विरेन्द्र बहादुर कुँँवर, मुकुन्द भट्ट, राजिव तामाङ, चन्द्र पन्त, विदुर घतानी र प्रदीप थापा निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा निर्मल कुमार मिश्र, विनय श्रेष्ठ, सालिनी पोड्डर छन् । चलचित्रमा चन्द्र पन्तको द्वन्द्व निर्देशन रहनेछ ।

पुषदेखि क्यानडा, यूरोप र नेपालमा छायांकन हुने चलचित्रको कथा, पटकथा र संवाद निर्देशक भट्ट र किंग योगीले संयुक्त रुपमा तयार पारेका हुन् । चलचित्रमा प्रियंका थापा, नविन लम्सालको पनि अभिनय रहनेछ । चलचित्रलाई विश्वको प्रतिष्ठित ओटीटी प्लेटफर्म नेटफ्लिक्समा पनि रिलिज गर्ने योजनामा निर्माण टिम छ । यो चलचित्रलाई नेपालकै सबैभन्दा ठूलो एक्सन-थ्रिलर दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu