नेप्सिनेले गर्‍यो संगीत अधिकार व्यवस्थापन र लाइसेन्सिङ सेवाको सुरुवात



नेपाली चलचित्र, गीतसंगीत, कला तथा संस्कृतिको अन्तर्राष्ट्रिय प्रवर्द्धन र बजार व्यवस्थापन गर्दै आएको कम्पनी नेप्सिनेले राजधानीको होटल र्‍याडिसनमा एक कार्यक्रमबीच संगीत अधिकार व्यवस्थापन र लाइसेन्सिङ सेवाको औपचारिक सुरुवात गरेको छ । नेपालमै पहिलो पटक सुरुवात गरिएको यस सेवाले गीत तथा संगीतका रचना अनि निर्माणमा प्रमुख भूमिका खेल्ने गीतकार, संगीतकार, निर्माता, प्रस्तोता तथा प्राविधिकहरुको हक, अधिकारको उचित व्यवस्थापन गर्दै, नेपाली गीत संगीतको सार्वजनिक वा व्यवसायिक प्रयोग गर्ने प्रयोगकर्तालाई कानूनी दायरामा ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने नेप्सिनेका संंस्थापक एवं कार्यकारी प्रमुख रायन रेजले बताएका छन् ।

गीत तथा संगीतको व्यवसायिक या सार्वजनिक प्रयोग गर्दा सरोकारवाला अधिकार धनीको अनिवार्य रुपमा अनुमति लिएर संगीत रोयल्टी बुझाउनु पर्ने अन्तरराष्ट्रिय नियम रहे पनि, यो नियमको पालना नेपाली गीत संगीतको प्रयोगकर्ताले नगरी दिदा संगीत र कला उद्योग नै धरासायी हुने अवस्थामा पुगेको छ । यही अवस्थालाई परिबर्तन गर्न र नेपाली संगीत तथा कलाकर्मीको अधिकार स्थापित गर्न संगीत लाइसेन्सिङ सेवाको सुरुवात गरिएको नेप्सिनेले जनाएको छ । साथै, यो सेवा पुर्ण रुपमा पारदर्शी र उत्तरदायि बनाउन प्रयोगकर्ता र अधिकार धनी दुवैलाई आफ्ना आर्थिक तथा अन्य सम्बन्धित विवरणहरु खुला र निर्वाध रुपमा हेर्न र खोज्न सकिने गरी पोर्टल एक्सेसको व्यवस्था गरिएको छ ।

कार्यक्रममा विभिन्न विधाका १५० भन्दा बढी स्रष्टालाई सम्मान गर्दै विभिन्न देशबाट विगत तीन महिनामा संकलन गरिएको उनीहरुको रोयल्टी पनि वितरण गरिएको थियो । रोयल्टी प्राप्त गर्ने स्रष्टाहरुमा अग्रज रञ्जित गजमेर, कुसुम गजमेर, शम्भुजित बासकोटा, तुलसी घिमिरे, राजेन्द्र थापा, विप्लव प्रतिकदेखि नयाँ पुस्ताका अर्जुन पोखरेल, वसन्त सापकोटा, राजनराज शिवाकोटी, दीपक शर्मा, हरि लम्साल, विपिन किरण, बाबु बोगटी, वसन्त थापा, विजय लामा, अमृत घोले लामा, अनिता चलाउने, विश्व नेपाली, चक्र बम, दिग्गज धौराली, डीपी खनाल रहेका छन ।

त्यस्तै रामचन्द्र काफले, गोविन्द गैरे, हिमांशु रायमाझी, कमल खत्री, किरण भुजेल, किशन रेग्मी, कृष्ण काफले, लेखु सहयात्री, लोकराज अधिकारी, मदन सेञ्चुरी, मानष राज, नरेश बिबिसी, नवराज कलाउनी, निशा शर्मा अर्याल, राजेन्द्र भट्ट, राजेन्द्र रिजाल, रकेन म्युजिक, सरोज साजन श्रेष्ठ, शंकरलाल थापा, सुभाष भुषाल, सुदिप लम्साल लगायतलाई रोयल्टी प्रदान गरिएको थियो ।

कार्यक्रममा वरिष्ट सञ्चारकर्मी दिनेश डिसी, चलचित्रकर्मी कृष्ण मल्ल, गीतकार राजेन्द्र थापा, अभिनेता सरोज खनाल, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, संगीतकार अर्जुन पोखरेल, कवि तथा गीतकार विप्लव प्रतिक, पत्रकार ऋषि धमला, किशोर पन्थी लगायतले नेप्सिने सेवाले सांगीतिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।

नेपाली कला तथा संगीत क्षेत्रमा रहेको अधिकार र रोयल्टीको विकराल समस्यालाई सम्बोधन गर्दै एक निजी कम्पनीले स्रष्टाका रोयल्टी संकलन गरेर वितरण गरेको यो नै पहिलोपटक हो । आफुले सिर्जना गरेका सृजनाहरु सर्बाधिक लोकप्रिय भई विश्वव्यापी रुपमा निरन्तर भोग चलन हुँदा हुँदै पनि आर्थिक अनि सामाजिक समस्यामा उझेलिनु पर्ने स्रजकका कारुणिक अवस्थाको अन्त्य गर्दै, नेपाली कला र सांगीतिक क्षेत्रलाई समय सुहाउदो विकासको बाटोतर्फ लैजाने नेप्सिनेको मुख्य उदेश्य रहेको नेप्सिनेका प्रमुख सञ्चालन अधिकृत विधान कार्कीले बताएका छन् ।

नेप्सिनेले सम्पूर्ण संगीत निर्माता, गीतकार, स‌गीतकारहरुलाई नेप्सिनेसंग जोडिएर यो सुविधाको लाभ लिन आह्वान गरेको छ । साथै अबको दुई वर्षभित्र नेप्सिनेले आफ्ना सम्पूर्ण सदस्यहरु लक्षित गरी पूर्ण मेडिकल सेवा प्रदान गर्ने बताएको छ ।

के हो नेप्सिने ?

नेप्सिने विगत एक दशकदेखि अन्तर्राष्ट्रियस्तरमा नेपाली गीतसंगीत तथा चलचित्रको प्रबर्धन र बजार व्यवस्थापन गर्दै आएको कम्पनी हो । यस सेवाको थालनीसँगै अब यो कम्पनीले नेपाली गीतसंगीतमा रहेको अधिकार धनीको प्रतिलिपि अधिकार व्यवस्थापन गर्नेछ र त्यसता अधिकारको सार्वजनिक वा व्यवसायिक प्रयोग गर्न कानुनी अनुमति प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu