कोरोना महामारीका कारण लामो समयदेखि बन्द अवस्थामा रहेका सिनेमा हलहरु असोज २१ गते घटस्थापनाबाट खुलेपछि अभिनेत्री स्वस्तिमा खड्का अभिनीत चलचित्र ‘चिसो मान्छे’ ले प्रदर्शन मिति घोषणा गरेको छ । चलचित्रले आउँदो वर्षको बैशाख ३० गतेलाई प्रदर्शन मिति रोजेको हो । यो चलचित्र गत वर्षको भदौमै प्रदर्शनमा आउने तयारीमा थियो । तर, कोरोनाका कारण रिलिज रोकियो ।

शनिवार निर्माण टिमले प्रदर्शन मिति घोषणा गर्दै चलचित्रको थिम पोस्टर सार्वजनिक गरेको छ । जसमा दुर्गम भेगको एक रुखको चौतारामा विदेशबाट मृत शरीर बोकेर आएको रातो बाकस र त्यसमाथि कालो रंगको लगेज ब्याग देख्न सकिन्छ । वैदेशिक रोजगारीको शिलशिलामा मृत्य भएर बाकसमा फर्किएकाहरुको कथा चलचित्रले वाचन गर्ने पोस्टरमार्फत् प्रस्ट्याउन खोजिएको छ ।
‘आमा’ निर्मात्री शर्मिला पाण्डेको एकल लगानीमा निर्माण भएको चलचित्रमा अभिनेता अर्पण थापा पनि मुख्य भूमिकामा छन् । यस्तै, चलचित्रमा देशभक्त खनाल, आशान्त शर्मा, झकेन बीसी लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । चलचित्रको निर्देशन, कथा, पटकथा, संवाद र छायांकन दीपेन्द्र के. खनाल आफैंको हो । उनले आफूले सोचेको जस्तै चलचित्र बनेको बताएका छन् ।