केही दिनअघि एक अन्तर्वार्तामा आफूलाई ‘महानायक’ को परिभाषा थाहा नभएको बताएपछि विवादमा तानिएका अभिनेता सलोन बस्नेतले दर्शकसँग माफी मागेका छन् । उनको यो अभिव्यक्तिपछि सामाजिक सञ्जालमा उनीमाथि गालीको वर्षा भएको थियो । दर्शकहरुले अबदेखि उनका चलचित्र नहेर्नेसम्म भनेका छन् । यसबाट डराएर उनले दर्शकसँग माफी मागेका हुन् ।

आइतवार सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले हडबडाहटमा बोल्न नजानेर आफूबाट ठूलो गल्ती भएको बताएका छन् । उनले लेखेका छन्, ‘मेरो पिढीको सबैभन्दा भाग्यमानी कलाकार लाग्थ्यो । मलाई थाहा थिएन, दिन यस्तो आउला जब मैले उहाँहरूमा फरक छुट्याउनु पर्नेछ भनेर । मेरो अहम, मेरो गर्व, मेरो धर्म, मेरो कर्म सबै जहाँ सिकेँ, त्यो मुहारलाई १, २ र ३ गरेर छुट्याउनु मेरो हैसियतभन्दा धेरै माथिको कुरा लाग्यो । शब्द छनोट गलत भयो मेरो तर मनबाट गलत सोचेको छैन ।’
आफ्नो शब्दले असर पर्न पाएकोमा उनले सबैसँँग माफी मागेका छन् । आजसम्म चलचित्रबाहेक अरु सोच्न नसकेको र कहिल्यै सोच्दा पनि नसोच्ने उल्लेख गर्दै सलोनले आफूलाई गलत नबनाइदिन आग्रह गरेका छन् । उनले फेसबुकमा स्टाटस पोस्ट गर्दै गर्दा राजेश हमालसँग पनि माफी माग्दै ‘माफ गर्दिनुस् महानायक’ भनेर लेखेका थिए । तर, पछि उनले यो लाइन हटाएका छन् ।