असोज २६ गते फूलपातीका दिनबाट देशव्यापी प्रदर्शनमा आउन लागेको शोभित बस्नेत निर्देशित चलचित्र ‘डाँडाको बर पीपल’ को तेस्रो गीत सार्वजनिक गरिएको छ । ‘सालैको पातले’ बोलको गीतमा शिव मुखियाको स्वर तथा संगीत रहेको छ भने नवराज गिरीको शब्द छ । रामजी लामिछानेले कोरियोग्राफी गरेको गीतको भिडियोमा सलोन बस्नेत र रुविना थापा फिचर छन् ।

गीतमा सलोनलाई गोठोलेको रुपमा प्रस्तुत गरिएको छ । उनलाई डाँडा-पाखामा गाई-बाख्रा चराउँदै देख्न सकिन्छ । गीतमा दुःख गरे स्वदेशमै राम्रो कमाई गर्न सकिने भन्दै परदेश नजान पनि भनिएको छ । गीतका शब्दहरु निकै मनछुने छन् । यो गीतलाई चलचित्रमा कथावाचनको रुपमा प्रयोग गरिएको निर्देशक बस्नेतले जानकारी दिए । नवराज गिरीले चलचित्रको निर्माण गरेका हुन् ।
यो चलचित्रमा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, अस्मिता जुरेली, हिउँवाला गौतम, उतम केसी, संगम भण्डारी, प्रभात पल, अस्मी थापा, प्रदीप गिरी, सुशान्तकुमार श्रेष्ठ लगायतको पनि अभिनय छ भने नवराज गिरीको कथा, रामकाजी घिमिरेको स्क्रिप्ट, सुशान्त प्रजापतिको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व र मित्रदेव गुरुङको सम्पादन छ । चलचित्रको कार्यकारी निर्माता सरस्वती गिरी हुन् ।