निर्देशक शोभित बस्नेत निर्देशित चलचित्र ‘डाँडाको बर पीपल’ आज (फूलपाती) बाट देशव्यापी प्रदर्शनमा आएको छ । मल्टीप्लेक्समा राम्रो शोज पाएको यो चलचित्रले लामो समयदेखि बन्द अवस्थामा रहेको चलचित्र उद्योगलाई चलायमान बनाउने अपेक्षा गरिएको छ । बुढासुब्बा ओरिजिनलको प्रस्तुति रहेको चलचित्रमा नवराज गिरीको लगानी रहेको छ ।

चलचित्रलाई उपत्यकामा वितरक गोपालकाजी कायस्थको बीके फिल्मस् र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गरेको छ । वितरकका अनुसार, देशका ५६ वटा पर्दामा फिल्म रिलिज हुँदैछ । प्रदर्शनको अघिल्लो दिन सोमवार काठमाडौंको ‘वान सिनेमाज्’ मा चलचित्रको प्रिमियर गरिएको थियो । जहाँ चलचित्रकर्मीहरुले चलचित्रको कथावस्तु र कलाकारहरुको अभिनयको प्रशंसा गरेका थिए ।
चलचित्रमा भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, अस्मिता जुरेली, हिउँवाला गौतम, उत्तम केसी, संगम भण्डारी, सुशान्तकुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, प्रदीप गिरी, ज्ञानकुमार कट्टेललगायतका कलाकारको अभिनय छ । चलचित्रमा रामकाजी घिमिरेको लेखन, सुशान्त प्रजापतिको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी र मित्रदेव गुरुङको सम्पादन छ । चलचित्र तिहारमा ओटीटी प्लेटफर्ममा रिलिज हुनेछ ।




