अभिनेत्री करिश्मा मानन्धरले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत भेटेको जानकारी गराएकी हुन् । तस्बिरसहित स्टाटस् लेख्दै अभिनेत्री मानन्धरले अध्यक्ष ओलीको विचार सुन्दा आनन्द लागेको बताएकी छन् । अध्यक्ष ओलीसँग मानन्धरसहित गायीकासमेत रहेकी राष्ट्रियसभा सदस्य कोमल वली र हास्य कलाकार जितु नेपाल पनि थिए ।
ओलीसँग भेटपछि खिचेको तस्विर फेसबुकमा पोस्ट गर्दै करिश्माले लेखेकी छन्, ‘उहाँको नजिक बसेर विविध विषयमा उहाँको बिचारहरु सुन्दा आनन्द आयो । सबै क्षेत्रका मानिसहरूलाई उत्तिकै महत्त्वका साथ लिनुभएकोमा र चासो मानेर कुरा सुनिदिनु भएकोमा आदरणीय केपी ओलीज्यूलाई धेरै धन्यवाद ।’

कक्षा १२ को परीक्षा चलिरहेको समयमा ओलीले फोन गरेर आफूलाई परीक्षाको लागि शुभकामना दिएको भन्दै करिश्माले फेसबुकमा स्क्रिनसट नै राखेकी थिइन् । तर, त्यसमा आउटगोइङ कल अर्थात् आफैंले फोन गरेको देखिएपछि उनले उक्त पोस्ट हटाइन् । २ दिन अगाडि उनले फेसबुकमा केपी शर्मा ओलीले फेरि १० अक्टोबर (असोज २४) मा आफूलाई फोन गरेको स्क्रिनसट राख्दै ‘बा यतिक्कै भएको होइन रहेछ’ भनेर लेखेकी छन् ।
बुझिए अनुसार, असोज २४ गते दोस्रो पटक फोन गरेर केपी ओलीले करिश्मालाई भेट्नका लागि निमन्त्रणा गरेका थिए । कक्षा १२ को परीक्षा चलिरहँदा फोन गरेर शुभकामना दिएपछि केपी ओलीप्रति सम्मानभाव राखेकी करिश्माले दशैंको समयमा उनकै निवासमा पुगेर भेट गरेपछि उनी एमाले प्रवेश गर्न लागेको चर्चा चल्न सुरु भएको छ । तर, उनले यस विषयमा मुख खोलेकी छैनन् ।


