लामो समयदेखि नेपाली चलचित्रको डिजिटल राइट्स खरिद गर्दै आएको बुढासुब्बा डिजिटलले अब आफैं चलचित्र निर्माण गर्दैछ । हाल दोस्रो हप्तामा प्रदर्शनरत चलचित्र ‘डाँडाको बर पीपल’ बुढासुब्बाको पहिलो निर्माण हो । चाँडै यसले चर्चित र्यापर भिटेनलाई लिएर ‘रत्नपार्क’ नामक चलचित्र पनि निर्माण गर्दैछ ।
बुढासुब्बाले ‘लक्ष्मी पूजा र डाँडाको बर पीपल’ पछि निर्देशक शोभित बस्नेतसँग फेरि नयाँ चलचित्रमा सहकार्य गर्ने भएको छ । तिहारपछि छायांकनमा जाने चलचित्रको अहिले स्क्रिप्टमा काम भइरहेको छ । निर्देशक बस्नेत नयाँ चलचित्रमा सलोन बस्नेत र रुविना थापालाई मुख्य भूमिकामा अभिनय गराउने सोचमा छन् ।

उनले भने, ‘कलाकार फाइनल भइसकेका छैनन् तर अहिलेसम्म मेरो दिमागमा सलोन र रुविनाको अनुहार आएको छ । गौरी मल्ल र राजिवजंग बस्नेतको पनि अभिनय रहन सक्छ । केही दिनमा चलचित्रको नामसँगै कलाकारको पनि टुंगो लगाउने छौं ।’ चलचित्र प्रेमकथामा आधारित हुनेछ ।
सलोन र रुविनाले ‘डाँडाको बर पीपल’ मा प्रेम जोडी भएर काम गरेका थिए । यो चलचित्रमा रुविनाको कामबाट प्रभावित भएर शोभितले नयाँ चलचित्रमा पनि उनलाई लिने सोच बनाएका हुन् । चलचित्रको कथा नवराज गिरीले लेखेका हुन् भने त्यसलाई पटकथा र संवादमा ढाल्ने काम रामकाजी घिमिरेले गरिरहेका छन् । सुशन प्रजापतिले चलचित्र खिच्नेछन् ।