चलचित्रबाट प्रस्ताव आए काम गर्छु : युना उप्रेती



युना उप्रेती ती भाग्यमानी अभिनेत्रीमा पर्छिन्, जसलाई पहिलो चलचित्रले नै चम्कायो । डेढ दशक अगाडिको सुपरहिट चलचित्र ‘पर्खि बसेँ’ बाट डेब्यू गरेकी युनालाई पहिलो चलचित्रको सफलतापछि चलचित्रमा भ्याइनभ्याइ हुन थालेको थियो । यसबीचमा उनले ‘हिम्मत २, चन्द्रावती, सम्झिदिए पुग्छ, दिलमा सजाएँ तिमीलाई, फ्ल्यासब्याक’ लगायतका चलचित्रमा आफ्नो अभिनय देखाइन् ।

तर, ‘पर्खि बसेँ’ र ‘हिम्मत २’ पछिका चलचित्रले उनलाई सफलताको सुख दिन सकेन । जसले गर्दा उनी आफ्नो प्रोफेसन बदल्ने निर्णयमा पुगिन् र २०१४ ताका एक कार्यक्रममा सहभागी हुनका लागि अमेरिका उडिन् । यसको केही समयमा उनले अमेरिकामै बसोबास गर्ने विकास अधिकारीसँग लगनगाँठो कसिन् । त्यसबेलादेखि उनी चलचित्र अभिनयमा फर्किएकी छन् ।

२०१८ मा छोरी (साइरा) लाई जन्म दिएकी युना लामो समयको अन्तरालपछि दशैं मनाउने गरी नेपाल आएकी छन् । उनी आउँदो डिसेम्बरसम्म नेपालमै बस्ने योजनामा छिन् । नेपाल बसाईको क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले चलचित्रमा फर्किने इच्छा व्यक्त गरेकी छन् । आफू डिसेम्बरसम्म नेपाल बस्ने र यो बीचमा चलचित्रबाट प्रस्ताव आएको अवस्थामा काम गर्ने उनको भनाई छ ।

उनले एक अन्तर्वार्तामा ‘पर्खि बसेँ’ मा आफू जोडिनुको किस्सा पनि सुनाएकी छन् । उनले भनेकी छन्, ‘खासमा मैले चलचित्र ‘कुशुमे रुमाल २’ का लागि भनेर आफ्नो फोटोसहितको डकुमेन्ट बुझाएको थिएँ । तर, त्यो चलचित्र तत्काल नबन्ने भएपछि मेरो डकुमेन्ट्री गोपीकृष्ण मुभिजले बनाउने अर्को चलचित्र (पर्खि बसेँ) का लागि पुग्यो । यो चलचित्रमा म अडिसनबाट पास भएर भित्रिएको थिएँ ।’

युना गायिका पनि हुन् भन्ने कुरा धेरै कमलाई थाहा हुनसक्छ । उनले आफू अभिनीत चलचित्र ‘हिम्मत २’ को ‘म तिमीलाई माया गर्छु’ गीतमा आवाज दिएकी छन् । तर, अमेरिका बस्न थालेपछि उनले अभिनयसँँगै गायनलाई निरन्तरता दिन सकेकी छैनन् । केही समयदेखि उनको नयाँ गीत रेकर्ड गर्ने विषयमा कुराकानी भइरहेको छ । उनी आफ्नो आवाजमा चाँडै नयाँ गीत रेकर्ड हुनेमा विश्वस्त छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu