यही तिहारपछि छायांकनमा जान लागेको चलचित्र ‘काँडेतार’ मा अभिनेत्री रेविका गुरुङ अनुबन्ध भएकी छन् । शनिवार निर्देशक तथा निर्माता नवल खड्काले उनीसँग कागजी सम्झौता गरेका हुन् । चलचित्रमा उनको जोडी गौरव पहारीसँग बाँधिनेछ । दशैंअघि नै निर्देशक खड्काले गौरवलाई चलचित्रका लागि मुख्य नायकमा अनुबन्ध गरेका थिए । चलचित्रमा नवलको पनि अभिनय रहनेछ ।

रेविकाले यसअघि चलचित्र ‘मारुनी’ मा अभिनेता पुष्प खड्काको जोडीको रुपमा काम गरेकी थिइन् । चलचित्र असफल भए पनि उनको कामको प्रशंसा भएको थियो । यसपछि उनी निर्देशक मिलन चाम्सको ड्रिम्स प्रोजेक्ट ‘गार्खा वारियर २’ मा अनुबन्ध भइन् । यो चलचित्र कोरोना महामारीका कारण छायांकनमा निस्कन सकेको छैन । उनी ‘काँडेतार’ लाई लिएर निकै उत्साहित छिन् ।
चलचित्रको बारेमा नवल भन्छन्, ‘नेपाल-भारतको सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने विषय फिल्मले उठाउनेछ । यसले दुई मुलुकबीचका नागरिक र भूमिको संरक्षण मात्रै गर्दैन असल छिमेकीसँगको सद्भाव कायम राख्छ भन्ने फिल्मको भाव हो । फिल्मले राष्ट्रलाई पनि झकझकाउने छ ।’ नेपाल र भारत सीमामा खिचिने यस चलचित्रलाई नवल र शंकर कार्कीले मिलेर निर्देशन गर्नेछन् ।




