ऋषिराज आचार्यले निर्देशन गरेको नयाँ चलचित्र ‘चुरिफुरी’ को पहिलो गीत सार्वजनिक भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘ओइ ओइ पियारी’ बोलको डन्सिङ नम्बरको गीतमा बेनिशा पौडेल र समिर आचार्यले आवाज भरेका छन् । निर्देशक आचार्य र दीपक शर्माले मिलेर लेखेको गीतमा दीपक स्वयंले संगीत भरेका छन् ।

गीतको भिडियोमा चलचित्रका कलाकारहरु अभिषेक श्रेष्ठ, पूजा पन्त, शिशिर भण्डारी, सुबोध गौतम, राजिब जङ्ग बस्नेत, पवन खतिवडा, सुनिता श्रेष्ठ, सोना बज्रचार्य, लक्ष्मी ढकाल, रविन्द्र झा, सुरवीर पण्डित लगायतले नृत्य गरेका छन् । अनमोल केसीको डुब्लिकेटको रुपमा चर्चित अभिषेकले यही चलचित्रबाट नायकको रुपमा डेब्यू गर्न लागेका हुन् । पूजाको पनि यो पहिलो चलचित्र हो ।
राहुले राइको छायांकन रहेको चलचित्रमा नविन निरौलाको सम्पादन छ । निर्देशक आचार्य र रिना ढकाल निर्माता रहेको चलचित्रमा विमला भुसाल, राजेन्द्र खाती, शिव थापा सह–निर्माताको रुपमा छन् । सोसल कमेडी जनरामा निर्माण भएको ‘चुरिफुरी’ को कथा, पटकथा र संवाद निर्देशक आचार्य स्वयंले तयार पारेका हुन् । आउँदो पुष ९ गतेलाई चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको छ ।