चर्चित नायिका निरुता सिंह ‘डान्स च्याम्पियन’ नामक रियालिटी शोमा निर्णायक बन्न नेपाल आएकी छन् । चलचित्र ‘दाल भात तरकारी’ मा काम गरेपछि जन्मथलो भारत फर्किएकी उनी यो शोमा मुख्य निर्णायकमा रहनेछिन् । उनी एक साता अगाडि नेपाल आएकी हुन् । निरुता मंगलबार आयोजना भएको पत्रकार सम्मेलनमा मिडियामाझ उपस्थित भएकी थिइन् ।

कान्तिपुर टेलिभिजनमा कात्तिक २५ गतेबाट प्रशारण हुन लागेको ‘डान्स च्याम्पियन’ मा निरुताको साथमा जगत रावल र आश्मा विश्वकर्मा निर्णायकको रुपमा रहनेछन् । यो शोका लागि डिजिटल अडिसन भैसकेको छ । अब, मेगा अडिसनको छायांकन हुने निर्देशक गजित बिष्टले जानकारी दिएका छन् । ३४ भागको रहने यो शो मेगा अडिसनपछि उत्कृष्ट ३०, उत्कृष्ट २० हुँदै अगाडि बढ्नेछ ।
आफू पहिलो पटक कुनै रियालिटी शोमा निर्णायकको रुपमा प्रस्तुत हुन पाउँदा खुशी लागेको निरुताले बताइन् । यो रियालिटी शोलाई इन्टरनेसनल डान्स एकेडेमी एन्ड फिल्मस्ले प्रस्तुत गर्न लागेको हो । आफू अभिनयका कारण चिनिएको बताउँदै निरुताले अब नृत्यलाई पनि अगाडि बढाउने बताइन् । एक समय उनलाई अभिनयसँगै नृत्यमा पनि पोख्त अभिनेत्री मानिन्थ्यो ।