निर्देशक शोभित बस्नेतको ३१औं निर्देशकीय चलचित्र ‘डाँडाको वरपीपल’ बिहीवारबाट डिसहोमको च्यानल नम्बर ८८८ मा रिलिज हुने भएको छ । लक्ष्मीपुजाको दिनबाट ओटीटीमा पनि चलचित्र आउनेछ । यो चलचित्र गत असोज २६ गते फुलपातीको दिनबाट हलमा प्रदर्शन आएको थियो ।
चलचित्रमा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, प्रदिप गिरि, अप्सना थापा, हिउँवाला गौतम, उतम केसी, रश्मी भट्ट, सुशान्तकुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, ज्ञानकुमार कट्टेल, टेकेन्द्र न्यौपानेको अभिनय रहेको छ ।

बुढासुब्बा डिजटल प्रस्तुतिमा निर्माण भएको चलचित्रमा नवराज गिरीको निर्माण र सरस्वती गिरी कार्यकारी निर्माता रहेको छ । रामकाजी घिमिरेको लेखन रहेको चलचित्रमा सुशान्त प्रजापतिको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी, मित्रदेव गुरुङको सम्पादन, रामजी राउतको मुख्य सहायक निर्देशन र आकाश बुढाथोकीको सहायक निर्देशन छ ।
निर्देशक बस्नेतले चलचित्र रिलिजको संघारमा ‘महानायक’ विवाद झिकेका थिए । उनले राजेश हमाल नभइ भुवन केसी मात्र ‘महानायक’ पदवीको हकदार रहेको बताएपछि दर्शकले चलचित्र बहिस्कार गर्ने कुरा उठाए । नभन्दै चलचित्रले हलमा पानीसम्म भन्न पाएन । प्रदर्शनको पहिलो हप्ताबाटै काठमाडौं र मोफसलका हलहरुले चलचित्र हटाइसकेका छन् ।




