जिवन पराजुली।
अभिनेता राजेश हमालले लामो समयदेखि चलचित्र ‘सत्यम्’ का लागि तयारी गरिरहेका छन् । उनले यो चलचित्रबाट चार वर्षपछि कमब्याक गर्न लागेका हुन् । यसमा उनी एक्सन अवतारमा देखिनेछन् । चलचित्रमा उनीसँगै पल शाह र मलिका महतको पनि अभिनय रहनेछ । भिलेनको भूमिकामा भने अपुनविक्रम शाही देखिँदैछन् । यतिबेला चलचित्रको पर्यटकीय गन्तव्य धम्पुसमा वर्कसप चलिरहेको छ ।
धम्पुसमा हमाल, पल र मलिकासँगै किशन सुनार, मिलन सिजापति लगायतका कलाकारहरुले वर्कसप गरिरहेका छन् । तिहारपछि छायांकन सुरु हुने चलचित्रको इन्डोर छायांकनका लागि निर्माण टिमले ठूलो खर्चमा पोखरामा भव्य सेट निर्माण गरेको छ । उक्त सेटमा हेलिकोप्टर क्रयासको दृश्यदेखि ठूला भवनहरुको दृश्यहरु खिचिने निर्देशक शंकर कार्कीले जानकारी दिए ।

अभय बराल, प्रिन्स प्रसिद्द सिंह थापा, नेरिस्का स्थापित, सूजन परियार लगायतका कलाकारहरुको पनि अभिनय रहने चलचित्रका निर्माता रेशम सापकोटा हुन् । गणेश पौडेल एशोसियट निर्माता रहेको चलचित्रमा सह-निर्माताहरुमा रेशम गौतम, सुबास भुर्तेल, श्याम मल्ल र कृष्ण अधिकारी छन् । अष्ट मान महर्जनको द्वन्द्व निर्देशन रहने यस चलचित्रमा हमाल चार फरक लुक्स देखिनेछन् ।
चलचित्रमा योगेश काजीको संगीत, कुटुम्ब ब्याण्डको ब्याकराउण्ड म्युजिक, गणेश पौडेलको सह-संगीत, रेशम सापकोटा र बिष्णु निरिशको शब्द रचना, अन्जु पन्त, योगेश काजी, समिक्षा अधिकारी, गणेश पौडेल र राजु महर्जनको गीतमा स्वर सुन्न सकिनेछ । त्यस्तै, चलचित्रलाई बिदुर पाण्डे ‘नबिन’ ले खिच्दैछन् । पहिलो पटक राजेश हमाल, पल शाह र मलिका महत एकसाथ देखिन लागेका कारण ‘सत्यम्’ दर्शकमाझ प्रतिक्षीत बनेको छ ।




