अभिनेता धिरज मगर र अभिनेता अदिती बुढाथोकीको मुख्य भूमिका रहेको चलचित्र ‘बाबरी’ को दोस्रो चरणको छायांकन सुरु भएको छ । गत बैशाखमा पूर्वको लेटाङमा शुभमुहूर्त गर्दै निर्देशक सुरेन्द्र पौडेलले चलचित्रको छायांकन सुरु गरेका थिए । तर, कोरोना महामारीको दोस्रो लहर भयावह रुपमा फैलिएपछि नेपालमा एउटा गीत मात्र खिच्न बाँकी राखेर छायांकन पोस्टपोन्ड गरियो । बिहीवारबाट काठमाडौंमा चलचित्रको एक गीतको छायांकन भइरहेको छ ।

गीतको छायांकन सकिएपछि चलचित्रको बाँकी छायांकन भारतको दार्जिलिङमा गरिने निर्मात्री पुष्पा बुढाथोकीले जानकारी दिइन् । भाइटीकाको भोलीपल्ट (कात्तिक २१ गते) निर्माण टिम दार्जिलिङ जानेछ । ‘बाबरी’ मा नेपाली चलचित्रकी पुरानी अभिनेत्री तृप्ती नाडकरका छोरा धिरज टोटलानीको पनि मुख्य भूमिका रहेको छ । नेपालमा उनको भागको छायांकन पूरा भइसकेको छ ।
चलचित्रमा तृप्तीको पनि अभिनय रहने बताइएको छ । चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, एन्जिला खत्रीको कोरियोग्राफी, कालीप्रसाद बाँस्कोटा, अनमोल गुरुङ र सुजन चापागाईंको संगीत रहेको छ । अदितीकी आमा पुष्पा बुढाथोकी चलचित्रकी निर्मात्री हुन् । चलचित्र निर्माणमा उनको यो पहिलो अनुभव हो । अदितीले चलचित्र ‘कृ’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । ‘बाबरी’ उनको दोस्रो चलचित्र हो ।